पोखरा, ३० असार २०८२।
संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्षमा विशन क्षत्री निर्वाचित भएका छन् । पोखरामा आइतबार मञ्चको छैटौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा उनले अध्यक्षका प्रत्यासी रोहितराज पराजुलीलाई मात्र ४ मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
कुल ३६ मतदातामध्ये शत्प्रतिशत मत खसेकामा विशनले २० मत ल्याएका थिए । मञ्चको सचिव, सहसचिव तथा कार्यसमिति सदस्यमा सर्वसम्मत् भए पनि अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि मतदान भएको हो ।
उपाध्यक्षमा अनुप पौडेल र कोषाध्यक्षमा ऋषिराम बराल निर्वाचित हुँदा सचिवमा युनिश गुरुङ र सहसचिवमा उमा आले निर्विरोध भएका हुन् ।
उपाध्यक्षका उम्मेदवार अनुप पौडेलले युवराज श्रेष्ठलाई पराजित गर्दा कोषाध्यक्षमा ऋषिराम बरालले फणीन्द्र अधिकारीलाई हराए ।
सदस्यमा दुर्गा राना मगर, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल सर्वसम्मत् भए ।
त्यसअघि, मञ्च अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ।