पोखरा, २७ असार २०८२।
पोखरामा सुनको सिक्री लुटेर भागेका दुई जना काठमाण्डौबाट पक्राउ परेका छन्।
अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाले घाँटीमा लगाएको दुई तोलाको सुनको सिक्री गत वर्ष चैत २९ गते साँझ सवा पाँच बजेको समयमा पोखरा महानगरपालिका वडा नं.१० शिवचोकमा पुग्दा लुटेर भागेका दुई जना काठमाण्डौबाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भई हाल काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ४ बस्ने वर्ष २८ को अन्जन तामाङ र सोही ठाउँमा बस्दै आएका काभ्रेपलाञ्चोकका वर्ष ३२ को सुरेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरुलाई गएको बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौको सहयोगमा काठमाण्डौको गोकर्णेश्वर न.पा. वडा नं. ४ बाट पक्राउ गरेर पोखरा ल्याइएको बताइएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।