पोखरा १८ असार २०८२।
शेयरधनीको रुपियाँ ठगेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ जानकीनगरस्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापक बेपत्ता भएका छन्।
करिब दुई हजार सदस्य रहेको उक्त सहकारीको करिब ३० करोड रकम हिनामिना गरेर सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा, उपाध्यक्ष बलराम न्यौपाने, कोषाध्यक्ष सुरेन्द्र बज्राचार्य र व्यवस्थापक वसन्त पराजुली बेपत्ता भएका हुन्।
सहकारीका सञ्चालक तथा व्यवस्थापक फरार भएसँगै सहकारीको कार्यालयमा रहेका खातापाता,अभिलेख, कागजात लगायतका सामग्रीको सुरक्षार्थ वडा कार्यालयले प्रहरीको रोहबरमा तालाबन्दी गरेर राखेको छ भने बचतकर्ताले कार्यालय घेराउ गरेका छन् ।
साढे दुई दशक पुरानो यो सहकारीले बचत तथा ऋणसँगै दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएको थियो । रकम अपचलनको सूचना बाहिरिएपछि समितिका पदाधिकारी, सल्लाहकार बसेर आन्तरिकरूपमा सल्टाउने प्रयास गरेका थिए ।
तिलोत्तमा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष कल्याण पौडेलका अनुसार, सहकारीको संकट समाधानका लागि बसेको बैठकमा भएको सहमति अध्यक्ष र सचिवले च्यातेर हिँडेको स्थानीयले सूचना दिएका छन् । पदाधिकारी, सञ्चालक सबै स्थानीय भएकोले समस्या समाधान गर्न सकिने भएपनि अध्यक्ष र सचिवले समन्वय नगर्दा समस्या परेको उनले सुनाए ।
वडाध्यक्ष कल्याण पौडेलका अनुसार, सहकारीमा एक हजार नौसय सय सदस्य छन् । त्यसमध्ये एकहजार एक सय ऋणी र ९ सय बचतकर्ता छन् ।
सहकारीको आफ्नै भवन, विभिन्न ९ स्थानमा वितरण केन्द्र भएपनि पछिल्लो समय पदाधिकारीले बिनाधितो आफू निकटलाई लगानी गरेकाले समस्या आएको स्थानीय बताउँछन् । बचतकर्ता माधव पन्तले भने, ‘मेरो साढे ३ लाख बचत छ, हिजोदेखि तालाबन्दी गरिएको सुनेपछि चिन्ता लागेको छ ।’
निरास देखिएकी अर्की बचतकर्ता विनिता पोखरेलले स्थानीयलाई विश्वास गरेकोले समस्यामा परेको बताइन् । बुटवल देवीनगरका उमाकान्त चापागाईँले १५ लाख ऋण लिएको बताउँदै लालपुर्जा निकाल्न आएकोमा कार्यालय बन्द हुँदा अलमलिएको बताए ।
स्थानीय कोपिला खनालले ५ वर्षदेखि बचत गरेको सवा लाख रकम निकाल्न नपाएको बताइन् । अर्की पीडित गीता चापागाईं लामिछानेले छोराको ४ लाख र आफ्नो डेढ लाख फसेको बताइन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले पीडितहरू निवेदन लिएर आएको तर रजिष्टार कार्यालयबाट आएपछि मात्रै प्रक्रियामा लैजाने बताए । उक्त सहकारी प्रदेश रजिस्टार कार्यालयमा दर्ता भएकोले पीडितहरू देउखुरी जाने तयारीमा छन् ।
यस क्षेत्रका सामाजिक अगुवा व्यक्तिहरुले नेतृत्व गरेको सहकारीमा यसरी अनियमितता भएपछि सेयर सदस्यहरु चिन्तामा परेका छन् । त्यस्तै सहकारीमा बृद्ध भत्ता बुझेर जम्मा गरेको रकमसमेत हिनामिना भएको भन्दै पीडित राम प्रसाद गौतम र राम प्रसाद धितालले यसरी दुखेसो पोख्छन्।
रुपन्देहीमा विभिन्न सहकारी संस्थाहरु एकपछि अर्को समस्याग्रस्त हुँदै जाँदा पछिल्लो पटक डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको घटना बाहिर आएको हो । रुपन्देहीमा बचतकर्ताको रकम हिनामिना गर्ने यो १२ औं सहकारी बनेको छ । सहकारीका सञ्चालक व्यवस्थापक फरार भएपछि स्थानीय शेयर सदस्यहरु बीच रुवावासी नै चलेको छ ।
२०५० सालमा स्थापना भएको सहकारीले खासगरी दूध सङ्कलन र बिक्रीको कारोबार गरिरहेको छ । सहकारीको तानसेनसम्म दूध सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन छ ।