पोखरा १७ असार २०८२।
म्याग्दीमा नक्कली महको कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको बिहार राज्य सपौल जिल्ला बस्ने बर्ष ३५ का रुपचंद धामी म्याग्दीमा नक्कली महको कारोबार गरेको आरोपमा पक्राउ परेका हुन्। धामीलाई म्याग्दीको बेनी नगरपालिका वडा नं. ८ कालिपुलबाट आइतबार पक्राउ गरिएको प्रहरीले बताएको छ।
अभियुक्त धामीको साथबाट बेचबिखन गर्ने प्रयोजनको लागी दुईवटा सेतो प्लाष्टिक (पोलिथिन) भित्र बाँधि राखेको अबस्थामा आठ किलो ५० ग्राम तौलको माहुरीको नक्कली चाका एक थान र तीन वटा सेतो प्लाष्टिकमा एकमुष्ट बेरी पोका बनाई बाँधि राखेको अबस्थामा नौकिलो पांच सय ग्राम तौल भएको नक्कली चाका एक थान र नक्कली मह बेचेर जम्मा गरेको ठानिएको नगद एक लाख चार हजार रुपियाँ पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय म्याग्देले जानकारी दिएको छ।
प्रहरीले अभियुक्त धामीबिरुद्ध बिना ईजाजत कमसल खालको, मिसावट गरिएको, खान योग्य नरहेको मह जस्तो देखिने बस्तु बेचबिखन गरेको आरोप लगाएको छ।
अभियुक्त धामीबिरुद्ध जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट कालो बजार तथा केही अन्य सामाजिक अपराध अन्तर्गतको कसूर) मा १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।