पोखरा १४ असार २०८२।
नवलपुरमा निर्माणाधिनको चर्च भवनको भुई ढलानका क्रममा जंगली च्याउको तरकारी खाएका १६ जना बिरामी परेका छन्।
जिल्लाको बुलिङटार गाउँपालिका–२ टाँडीस्वारास्थित जिवनज्योती चर्च मण्डलीको निर्माणाधीन भवनमा श्रमदान गर्न गएका १६ जना जंगली च्याउ खाँदा बिरामी परेका हुन्।
बिरामी हुनेहरुमा सोही ठाउँका स्थानीय ५१ वर्षीया समिमाया राना, १७ वर्षीया कबिता लुङगेली, ३७ वर्षीय सिताराम गरन्जा मगर, १७ वर्यीया निशा ठाडा मगर, ४८ वर्षका कृष्ण बहादुर राना र ७८ वर्षका जसु डिसुवा मगर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
त्यसैगरी सोही ठाउँका ४५ वर्षीय एकबिर बराल, ५० वर्षीया चुलिमाया थापा, ६६ वर्षकी गनिसर राना मगर, ४० वर्षीया मनमाया लुङगेलि मगर, ३५ वर्षीया धनमाया लुङगेली, ३१ वर्षीय संजय कुमाल, ७ वर्षकी एरिना कुमाल, ५० वर्षीया रुमा गाहा मगर ४२ वर्षकी हुमाया सारु मगर र १८ वर्षीय राजन राना मगर बिरामी भएको प्रहरी नायव उपरीक्षक नेपालले बताए ।
बिरामीमध्ये निशा ठाडा र एकवीर बरालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बिरामी सबैको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको प्रहरीको भनाइ छ।