पोखरा ८ असार २०८२।
तनहुँको देवघाटमा एक जनाको हत्या गरेर भागेका जोगी चितवनस्थित वृद्धाश्रमबाट पक्राउ परेका छन्।
गएको असार ५ गते बिहान करिब ५ बजे तनहुँको देवघाट गाउँपालिका–५ बद्रिमुक्ति टोलका ३२ वर्षीय प्रकाश पौडेललाई कुटपिट गरी हत्या गरेर भागेका ‘जोगी’ उपनामले चिनिने महोत्तरी बर्दिवास नगरपालिका–१ का ४६ वर्षीय लोकबहादुर महतलाई प्रहरीले चितवनको भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लब चितवनले सञ्चालन गरेको वृद्धाश्रमबाट सार ७ गते बिहान करिब १० बजे पक्राउ गरेको हो।
महत लगायतका युवाहरुले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। महतलाई उक्त बृद्धाश्रममा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले बताएको छ ।
सोहि घटनामा संलग्न अन्य दुई अभियुक्त—पाल्पा तानसेन नगरपालिका–८ का २८ वर्षीय बुद्ध सारु मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ का ४२ वर्षीय राम लामा-लाई असार ५ कै दिन पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट पांच दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीले महतलाई नियन्त्रणमा लिएर तनहुँको आबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयमार्फत थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी आशिष विकका अनुसार घटनामा संलग्न सबै तीन अभियुक्त पक्राउ परिसकेका छन् र थप अनुसन्धान भइरहेको छ।