पोखरा ७ असार २०८२।
नवलपुरको देवचुली नगरपालिका-१७ पिप्रहरस्थित चितवन टाइगर रिर्सोटमा बारविक्यू गर्ने क्रममा अचानक आगो सल्किंदा जलेर एक बालिकाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
कावासोती नगरपालिका-८ निवासी प्रदीपकुमार भट्टराई परिवारका सदस्य र साथीभाइ रमाइलो गर्न अघिल्लो शुक्रबार उक्त रिसोर्ट पुगेका थिए। रिर्सोटमा बारविक्यू गर्दा शुक्रबार राति साढे ९ बजे रिर्सोटका एक स्टाफले पेट्रोल हालिदिंदा दन्किएको आगोले जलेर गम्भीर घाइते भएकी प्रदीपकी ६ वर्षीया छोरी अन्नी भट्टराईको बिहीबार राति कीर्तिपुरस्थित वर्न हस्पिटलमा उपचारका करामाम मृत्यु भएको नवलपुर्का प्रहरी प्रमुख एसपी यादव ढकालले बताए ।
सोही दन्किएको आगोले पोलेर ४४ वर्षीय प्रदीप, उनकी ४१ वर्षीया श्रीमती मीना पौडेल, प्रदीपले सञ्चालन गरेको ‘द नेक्स्ट कन्सल्टेन्सी’मा कार्यरत कर्मचारीहरू २६ वर्षका असिम राना र २४ वर्षीय अनुप गुरुङ घाइते भएका छन्।
प्रदीप स्थानीय मध्यविन्दु कलेजमा पढाउनेसमेत गर्दछन् । उनका थप दुई जना साथी र उनका छोरा सो घटना हुँदा नजिक नरहेका कारणले पोलिनबाट जोगिएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख ढकालले घटनाका बारेमा अनुसन्धान भैरहेको बताउँदै पीडितले भनेको जस्तैं पेट्रोल हालिएको हो वा हैन भन्ने बारेमा अनुसन्धान भैरहेको बताए ।
उनले होटलका कर्मचारीहरुसँग घटनाका बारेमा सोधपुछ गरिएको बताउँदै घाइतेहरु उपचारको क्रममा रहेकोले केही निको भएपछि थप बुझ्ने काम हुने बताए ।