पोखरा,५ असार २०८२।
गुल्मीमा बालिका बलात्कारपछि हत्याकाे घटनामा संलग्न शिक्षकलाई जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलाशले बाँके जिल्लाको खजुरा गाउँपालिका–४ घर भएका २३ वर्षीय रहिस खाँलाई जन्मकैदको फैसला सुनाएको हो ।
अदालतका श्रेष्तेदार सुदर्शन खनालका अनुसार, खाँलाई बलात्कार अभियोगमा १४ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको छ। यो फैसला मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) र दफा ३ (क) र (ख) को आधारमा गरिएको हो।
त्यस्तै, कर्तव्य ज्यान अभियोगमा अदालतले जीवित रहेसम्म जन्मकैद र तीन लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ। यो फैसला मुलुकी अपराध संहिता २०७४ को दफा १७७ उपदफा (१) र दफा ४१ बमोजिम गरिएको हो।
दफा २२८ र १८६ अनुसार पीडित परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरिएको छ।
बलात्कार गरी कर्तव्य ज्यान गरेमा जीवित रहेसम्म जन्मकैद हुने व्यवस्था संहिताको दफा ४१ मा उल्लेख गरिएको छ। त्यस्तै, त्रासदीपूर्ण र निर्मम हत्या, जातिहत्या, वायुयान अपहरण, विष खुवाएर हत्याजस्ता अपराधमा पनि यही व्यवस्था लागू हुन्छ।
खाँले २०७९ साल कात्तिक १६ गते स्थानीय १५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी शव खोलामा फालेका थिए। घटनाको एक दिनपछि, कात्तिक १७ गते, ती बालिकाको शव शान्तिपुरस्थित हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा फेला परेको थियो। त्यसपछि स्थानीयवासीले बलात्कारपछि हत्या गरिएको आशंका गर्दै प्रदर्शन तथा विरोध गरेका थिए।
बालिका श्रीलंकाटोलस्थित आमासँग भाडाको घरमा बस्दै आएकी थिइन्। उनी घटनाको अघिल्लो दिनदेखि सम्पर्कविहीन थिइन्। घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले खाँलाई पक्राउ गरी जिल्ला अदालत गुल्मीमा पेश गरेको थियो। अदालतले प्रमाणको आधारमा उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो।
घटनामा संलग्न व्यक्ति नै स्थानीय विद्यालयमा अध्यापन गरिरहेका खाँ रहेको खुलासा भएपछि स्थानीय थप त्रसित बनेका थिए । बाँकेबाट त्यहाँको मदरसामा पढाउन गएका उनी जघन्य अपराधमा जाेडिएपछि कारबाहीका लागि स्थानीयले साथ दिएका हुन् ।