पोखरा, २९ जेठ २०८२।
गोरखामा पेन्शन बुझेर घर फर्कदै गरेका बृद्धहरुको शृंखलाबद्ध तरीकाले पाकेटमारी गर्ने तीन जना पक्राउ परेका छन्।
पेन्शन बुझेर फर्कने क्रममा बस चढ्ने गरेका ती बृद्धहरुलाई लक्ष्यित गरेर पिछा गर्दै त्यही बसमा चढेकै अवस्थामा पेन्शन बुझेको रकम पाकेटमारी गरेको आरोपमा प्रहरीले गोरखाबाट तीन जनालाई पक्राउ गरेको हो।
उक्त शृंखलाबद्ध पाकेटमारीमा संलग्न रहेको आरोपमा शहिद लखन गाउँपालिका वडा नम्वर ४ घर भई हाल चितवन बस्ने ४९ बर्षीय दिपक परियार, ३५ बर्षीय आशिक भुजेल र ४३ बर्षीय दाननारायण श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरतबहादुर बिकले जानकारी दिएका छन् ।
गण्डकी गाउँपालिका–२ निवासी ७१ बर्षीय गिरिराज पन्त गत फागुन ८ गते गोरखास्थित एक बैंकबाट पेन्सन बापतको एक लाख रुपियाँ नगद झिकेर आफ्नो झोलामा राखी सार्वजनिक बसमा चढेर फर्कदै गर्दा पाकेटमारीमा परेका थिए।
गोरखा नगरपालिका–६ हरमटारीका ८२ बर्षीय गंगाबहादुर श्रेष्ठ गत जेठ ७ गते पेन्सन रकम झिकी बसमा चढेर लक्ष्मीबजारबाट गोरखा बजार फर्कने क्रममा उनको झोलामा रहेको दुइ लाख रुपैया बसबाटै गायब भयो।
शहिद लखन गाउँपालिका–५ का चोकबहादुर थापा मगरसँग पनि उस्तै घटना दोहोरियो । जेठ ११ गते लक्ष्मीबजारबाट पेन्सन बुझेर घर फर्कने क्रममा उनी चढेको बसभित्रैबाट उनको झोलामा रहेको नगद ५० हजार चोरी भयो ।
सार्वजनिक यातायातमै श्रृंखलावद्ध रुपमा नगद चोरीका घटना हुन थालेपछि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गर्दै निगरानी बढाएको जिल्ला प्रहरी प्रमुख एसपी बिकले बताए। त्यही क्रममा प्राप्त सिसिक्यामेरा फुटेज फुटेजको विश्लेषण तथा बिभिन्न प्रबिधी र उपकरण प्रयोग गरेर पछिल्लो घटना भएको केही दिनपछि लक्ष्मीबजारबाट मास्क लगाएर हिडेको अवस्थमा दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट २७ हजार ७ सय नगद र चोरीमा प्रयोग गर्ने नङकट दुई थान, चिम्टी एक थान र ब्लेड एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । साथै दुई वटा मोवाइल पनि प्रहरीले उनीहरुको साथबाट बरामद गरेको छ । उनीहरुबिरुद्ध चोरी सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।