पोखरा, १६ जेठ २०८२।
पोखरा आउदै गरेको बस कास्की जिल्लाको रुपा गाउपालिकामा दुर्घटनाग्रस्त हुँदा १८ जना घाइते भएका छन्।
लमजुङको मध्यनेपाल नगरपालिका-७, रामबजारबाट यात्रु लिएर पोखरा आउदै गरेको ग १ ख ४१०१ नम्बरको बस रुपा गाउँपालिका-१, पार्चेमा आज बिहान करिब सवा ११ बजे दुर्घटनाग्रस्त हुँदा १८ जना यात्रु घाइते भएका हुन्।
उक्त दुर्घटनामा घाइते भएकामध्ये अधिकांश मध्येनेपाल नगरपालिका-७,रामबजारकै बासिन्दा रहेको बताइएको छ। ती मध्ये ८२ वर्षीया मेनुकादेवी घिमिरेको अवस्था गम्भीर रहेको छ। उनको दायाँ हात भाँचिएको र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते हुने अन्यमा सोही ठाउँका ६२ वर्षीया राधिका घिमिरे, ५९ वर्षीया शोमा थापा, ५४ वर्षीया लक्ष्मी कुमारी गुरुङ, ४५ वर्षीया सरस्वती केसी, ८३ वर्षीया जमुना देवी घिमिरे, ४२ वर्षीया सरिता घिमिरे, ५६ वर्षीया सावित्रा घिमिरे, ४२ वर्षीया रिता घिमिरे, ४१ वर्षीया पार्वती घिमिरे, ४८ वर्षीया सिजा थापा, ७५ वर्षीय चन्द्रबहादुर केसी, ७१ वर्षीय नेत्रबहादुर केसी, ३० वर्षीया लीला केसी, ३७ वर्षीया शान्ति केसी, ६३ वर्षीय हरिकृष्ण घिमिरे, ४८ वर्षीया कमलादेवी घिमिरे र ५५ वर्षीया मैया कुँवर रहेका छन्। उनीहरु अधिकांशको अवस्था मध्यम रहेको र सबैको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
बसका चालक मध्येनेपाल नगरपालिका-७, रामबजारकै ३४ वर्षीय सन्तोष लामालाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ। सहचालक तनहुँ व्यास नगरपालिका-९ का १६ वर्षीय सन्देश गैरे सामान्य घाइते भएकाले अस्पताल भर्ना भएका छैनन्।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।