झारफुक गर्ने नाममा चितवनमा दुई महिलामाथि योनशोषण भएको छ।
रत्ननगर नगरपालिका–९ निवासी ५६ वर्षीय ‘सिद्ध पुरुष’ भनेर चिनाउँने वसन्त ढुङ्गानाले झारफुक गर्ने नाममा चितवनमा दुई महिलामाथि योनशोषण गरेका हुन्। आफ्नै घरमा झारफुक गर्ने भन्दै आएका दुई महिलालाई यौन शोषण गरेको आरोपमा ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनले जेठ ४ गते आफ्नो हेराई केन्द्रमा १७ वर्षीय किशोरीलाई बोलाएका थिए। विदेश जान उपयुक्त समयबारे बुझ्न गएकी कक्षा १२ मा अध्ययनरत ती किशोरीलाई ‘मसान लागेको छ, हटाउनुपर्छ’ भन्दै कोठाभित्र लगेका थिए । ‘झारफुक नगरी विदेश गए पागल हुने’ चेतावनी दिएका उनले यौन शोषण गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । किशोरीलाई एक्लै कोठामा राखी शरीरको माथिल्लो भागको वस्त्र खोल्न लगाएर संवेदनशील अंगहरू छोएको खुलेको छ।
पीडितकी आमालाई भने बाहिर राखिएको थियो। घटना त्यतिमै सीमित रहेन। जेठ ११ गते ढुङ्गानाले किशोरीको घरसम्मै पुगेर बालिकाकी २९ वर्षीया सानीआमा माथि पनि झारफुकको नाममा यौनजन्य दुर्ब्यबहार गरेका थिए। श्रीमानसँगको सम्वन्धमा सामान्य दरार आएपछि तनावमा रहेकी उनलाई ‘तिमीलाई टुनामुना लागेको छ, श्रीमानसँग सम्बन्ध सुधार गर्नुपर्छ’ भन्दै कोठामा लगेका थिए।
त्यसपछि ढोका थुनेर गंगाजल छर्किएको अभिनय गर्दै शरीरको माथिल्लो कपडा खोल्न बाध्य बनाएको आरोप छ। महिलाले प्रतिरोध गर्दा ढोका ढकढक गरेपछि बालिकाकी आमा भित्र छिरेर घटनालाई रोकेकी थिईन। त्यसपछि इलाका प्रहरी कार्यालय, टाँडीमा जाहेरी दिइएको थियो। यो घटनालाई बुधबार एक व्यक्तिले टिकटकमा भिडियो बनाएर पोष्ट गरेपछि प्रहरीले ढुङ्गानालाई सोही दिन बेलुकी नियन्त्रणमा लिएको हो। पीडितको जाहेरीका आधारमा थप अनुसन्धान भईरहेको डिएसपी रविन्द्र खनालले जानकारी दिए।