भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिव नम्बाल्ला केशव राव उर्फ बसवराजुसहित सात जना माओवादी नेताको भारतको छत्तीसगढ प्रहरीले आफैं दाहसंस्कार गरेको छ ।
छत्तीसगढको नारायणपुर जिल्ला प्रहरी मुख्यालयबाट करिब दुईकिलोमिटर टाढा आश्रम रोड नजिकैको सानो जंगलमा हत्या गरिएका भाकपा माओवादीका महासचिव बसवराजुसहित सात जना माओवादी नेताको छत्तिसगढ़ प्रहरी आफैले दाहसंस्कार गरेको हो ।
बस्तर रेन्जका प्रहरी महानिरीक्षक सुन्दरराज पीले सीपीआई (माओवादी) का महासचिव बसवराजुको शवसहित सात नक्सलवादीको शवका विषयमा अहिलेसम्म कुनै स्पष्ट कानुनी दाबी नगरिएपछि कार्यकारी मजिस्ट्रेटको आदेशअनुसार उनीहरूको अन्तिम संस्कार गरिएको बताएका छन्।
बसबराजुका दाइ राम प्रसाद रावले सोमबार दिउँसो नारायणपुर प्रहरी चौकीमा बोलाएर शवको अवस्थाबारे जानकारी गराई नारायणपुरमै अन्तिम संस्कार गर्न भनिएको बताएका छन्।
उनले बीबीसी हिन्दीसँग भनेका छन्, ‘प्रहरीले हामीलाई प्रहरी चौकीमा बोलाएर मेरो भाइको शव कुहिन थालेको र अस्पतालबाट मेरो गाउँ लैजानु जोखिमपूर्ण हुने बताएको थियो। उनीहरूले रोग फैलिने डर व्यक्त गर्दै नारायणपुरमै अन्तिम संस्कार गर्नुपर्ने बताए। तर हामी यसमा सहमत भएनौँ।’
छत्तीसगढ प्रहरीका अनुसार मे २१ मा नारायणपुरको अबुझमदमा भएको मुठभेडमा केशव रावसहित २६ माओवादी मारिएका थिए।
यसैबीच भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले विज्ञप्ति जारी गरी आत्मसमर्पण गरेका नेता-कार्यकर्ताका कारण आफ्ना महासचिव बसवराजु मारिएको बताएको छ।