पोखरा, ८ जेठ २०८२।
तनहुँबाट गोलीगट्ठा र एक थान पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अमेरिकामा बनेको लेखिएको पेस्तोल एक थान, गोली एक राउण्ड र म्याग्जिन १ थानसहित दुई जनालाई बिहीबार दिउँसो पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा नवलपुरको गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका-७ गौरीनगर बस्ने ३२ वर्षीय विजय तिवारी रहेका प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरु गोलीगट्ठा र एक थान पेस्तोलसहित पक्राउ गरेका प्रहरीले बताएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।