पोखरा, ७ जेठ २०८२।
चितवनको इच्छाकामना गाउँपालिका-७ दाहखानी गाउँको दाहाखानी भ्यू-रिसोर्टको पौडी पोखरीमा एक युवा मृत भेटिए पछि उनका आठजना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
भरतपुर महानगरपालिका-२२ पटिहानी बस्ने २५ वर्षका लोकेश महतो मंगलबार साँझ उक्त रिसोर्टको पौडी पोखरीमा मृत भेटिए पछि उनीसंगै पौडी खेल्न गएका आठ जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका–१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।
प्रहरीका अनुसार , साथीहरूसँग नुहाउन जान्छु भनेर स्वीमिङ पुल गएका उनी धेरै बेरसम्म नफर्किएपछि गएर हेर्दा स्वीमिङ पुलमा तैरिरहेको अवस्थामा भेटिएका थिए। उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरस्थित शिक्षण अस्पताल लगिए पनि त्यहाँ चिकित्सकले मृत घोषणा गरे।
घटना शंकास्पद रहेकाले उनका साथीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको डीएसपी खनालले जानकारी दिए।