पोखरा, ५ जेठ २०८२।
काठमाडौंको गोकर्णेश्वरस्थित एक किनारा पसलमा बसिरहेका एक युवाको हत्या गरेर भागेका पांच जना पक्राउ परेका छन्।
गोकर्णेश्वर नगरपालिका-२, नयाँपाटीस्थित एक किराना पसलमा बसिरहेका ३७ वर्षीय बलिन्द्र प्रकाश राईलाई वैशाख ३० गते राति करिब ९ बजेतिर मरणासन्न हुने गरी कुटेर भागेका पांच जनालाई प्रहरिले पक्राउ गरेको हो। तात्कालिन अवस्थामा गम्भीर घाइते भएका बलिन्द्र प्रकाशको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उक्त हत्यामा संलग्न रहेको आरोपमा रामेछापको सुनापति गाउँपालिका–४ घर भई हाल गोकर्णेश्वर–१ मा बसोबास गर्ने २९ वर्षीय प्रविण तामाङ, सर्लाही बागमती गाउँपालिका–३ घर भई हाल गोकर्णेश्वर–२ मा बस्ने २३ वर्षीय समिर वाइवा तामाङ, सोही ठाउँका २६ वर्षीय अभिषेक वाइवा तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल गोकर्णेश्वर बस्ने २९ वर्षीय दीपेन्द्र भुजेल र काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–७ घर भएका २८ वर्षीय अनुराग तामाङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पाँचै जनाबिरुद्ध काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।