भारतीय सेनाले सोमबार जम्मु कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोन देखिएको बताएको छ। यद्यपि, सेनाले अहिलेसम्म ड्रोनहरू कुन दिशाबाट आएका हुन् भन्ने खुलासा गरेको छैन।
चार दिनको सैन्य द्वन्द्वपछि मे १० मा भारत र पाकिस्तानबीच युद्धविराम भएको थियो। तर सम्झौता भएको केही घण्टापछि नै भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानले सम्झौता उल्लंघन गरेको आरोप लगाएका थिए।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै पाकिस्तानविरुद्धको सैन्य कारबाही स्थगित मात्र गरिएको र पाकिस्तानको मनोवृत्ति हेरेर फेरि थप कारबाहीको निर्णयमा पुग्न सक्ने चेतावनी दिएका छन् ।
‘हाम्रो एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो,’ मोदीले भने, ‘हामी सबै सबै प्रकारका आतंकवादविरुद्ध एकजुट छौं । पक्कै पनि यो युद्धको युग होइन, तर यो आतंकवादको युग पनि होइन। आतंकवादविरुद्ध शून्य सहनशीलता नै राम्रो ग्यारेन्टी हो ।’
पाकिस्तानी सेना र सरकारले जसरी आतंकवादलाई प्रोत्साहन गरिरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै ध्वस्त पार्ने उनको भनाइ थियो । ‘यदि पाकिस्तान बाँच्न चाहन्छ भने, उसले आफ्नो आतंकवादी पूर्वाधार नष्ट गर्नुपर्नेछ, यसबाहेक शान्तिको अर्को कुनै उपाय छैन,’ मोदीले भने ।
भारतको दृष्टिकोण एकदमै स्पष्ट भएको र आतंक र वार्ता सँगै चल्न नसक्ने उनले बताए । ‘पानी र रगत पनि सँगै बग्न सक्दैनन् । म विश्व समुदायलाई यो पनि भन्न चाहन्छु, हाम्रो घोषित नीति पाकिस्तानसँग कुनै वार्ता हुन्छ भने त्यो आतंकवादबारे मात्र हुनेछ,’ उनले भने, ‘यदि कुनै कुराकानी हुन्छ भने, त्यो केवल पाकिस्तानमा हुनेछ ।’
बुद्ध पूर्णिमाबारे पनि स्मरण गराउँदै मोदीले भने, ‘बुद्धले हामीलाई शान्तिको मार्ग देखाउनुभएको छ। शान्तिको बाटो पनि शक्तिबाटै जान्छ । मानवतालाई शान्ति र समृद्धितर्फ अघि बढाउन, प्रत्येक भारतीय शान्तिमा बाँच्न सक्षम छन्, विकसित भारतको सपना पूरा गर्न भारत शक्तिशाली हुनु आवश्यक छ ।’