पोखरा, २७ बैशाख २०८२।
भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझदेखि फेरि गोलाबारीको आवाज सुन्न थालिएको छ । श्रीनगरमा रहेका बीबीसीका संवाददाता माजिद जहाँगीरले कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा स्थानीय समय अनुसार साँझ ७ः२० बजेदेखि गोलाबारी शुरु भएको जनाएका छन् ।
एएनआई न्यूज एजेन्सीका अनुसार उत्तरी क्षेत्रमा गोली र विस्फोटका आवाज सुनिएको छ । पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको बीबीसी संवाददाताले जनाएका छन् ।
यसैबिच जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मूमा ‘ब्ल्याक आउट’ भएको र साइरनको आवान सुनिएको जनाएका छन् ।
‘जहाँ म छु, त्यहाँ छिनछिनमा विस्फोटको आवाज आइरहेको छ, सम्भवतः ठुलो तोपको आवाज सुनिएको छ,’ उनले ‘एक्स’मा लेखेका छन्, ‘जम्मू र आसपासमा रहेका सबैमा मेरो विनम्र अपिल छ, कृपया सडकमा ननिस्कनु होला । घरमै बस्नुस् वा कुनै यस्तो ठाउँमा बस्नुस्, जहाँ केही घण्टासम्म आरामले रहन सकियोस् ।’
समाचार एजेन्सी पीटीआईले भारतीय सेना स्रोतलाई उद्धृत गर्दै जम्मु, साम्बा र पठानकोटमा ड्रोनहरू देखिएको बताएको छ।
बीबीसीका सहपत्रकार रविन्द्रसिंह रोबिनले अमृतसरमा पनि ठूलो विस्फोटको आवाज सुनिएको जानकारी दिएका छन्।
पन्जाबस्थित बीबीसीका स्थानीय पत्रकारहरूले फिरोजपुरका स्थानीयले कम्तीमा तीनवटा विस्फोटको आवाज सुनेको रिपोर्ट गरेको बताएका छन्।
फिरोजपुर प्रशासनका एक वरिष्ठ अधिकारीले पनि आफूले तीनवटा विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन्।
बीबीसी पत्रकार नवजोत कौरका अनुसार उपायुक्त निशान्त यादवको आदेशमा चण्डीगढका बजार साँझ ७ बजेदेखि पूर्ण रूपमा बन्द गरिएका छन्।