पोखरा, २६ बैशाख २०८२।
पाकिस्तानले दोस्रो दिन लगातार ड्रोन र मिसाइल आक्रमण गरेको छ । भारतीय सञ्चारमाध्यमले बिहीबार तीन राज्यका ११ शहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण भएको बताएको हो ।
यसमा जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया रहेका छन् । त्यसै गरी पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण शहर पनि पाकिस्तानी ड्रोनको निशानामा परेका छन् ।
पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको तर भारतीय वायु रक्षा प्रणालीले त्यसलाई विफल पारेको दाबी गरिएको छ । पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको छ। राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गर्न लगाइएको छ।
पञ्जाब, जम्मू कश्मीर र राजस्थान उच्च सतर्कतामा छन्। पञ्जाबको जालन्धर र अमृतसरमा पूर्ण रूपमा अन्धकार छ भने बीकानेर र श्रीगंगानगरमा पनि पूर्ण रूपमा अन्धकार छ।
यसैबिच, जम्मू, किस्तवाड, अखनूर, साम्बा र पठानकोटमा पूर्ण ब्ल्याकआउट गर्न लगाइएको छ। आरएस पुरा सेक्टरमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्। नियन्त्रण रेखा नजिकै कुपवाडा र बारामुल्लामा दुवै तर्फबाट भारी गोलाबारी भइरहेको समाचार छ ।
यता पाकिस्तानले गरेको आक्रमणको बिचमा धर्मशालाको एचपीसीए मैदानमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बिचको खेल रोकिएको छ। मैदानका सबै फ्लडलाइटहरू निभाइएर सबै फ्यानहरूलाई मैदान खाली गर्न लगाइएको थियो ।
खेल रोकिँदासम्म पञ्जाबले १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो। प्रभसिमरन सिंह र श्रेयस अय्यर अविजित रहेका थिए । प्रियांश आर्य भने ७० रन बनाएर आउट भएका थिए ।पाकिस्तानले जवाफी आक्रमण गरेको छ ।
बिहीबार राति पाकिस्तानले भारतका विभिन्न क्षेत्रमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एशियन न्यूज इन्टरनेशनल (एएनआई) समाचार एजेन्सीका अनुसार पाकिस्तानले जम्मुलाई ‘लोइटरिङ म्युनिसन्स’ (आफ्नै भित्र बिस्फोटक बोकेर लक्षित स्थानमा ठोक्किने ड्रोनहरू) प्रयोग गरेर आक्रमण गरिरहेको छ ।जम्मु विमानस्थलमा विस्फोट भएको खबर आएको बीबीसीले जनाएको छ । जम्मु सहरको गूज्जर नगर पुलमा रहेका एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार उनले जम्मु विमानस्थल नजिक १६ वटा वस्तु खसिरहेको देखेका छन् ।
एक सुरक्षास्रोतले एएफपी समाचार एजेन्सीलाई विमानस्थलमा विस्फोट भएको बताएका छन् ।
प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताए अनुसार बजारहरू बन्द भएका छन्, मानिसहरू भागिरहेको देखिएको छ, साइरनहरू बज्न थालेका छन् र पुरै सहरमा बत्ती निभाइएको छ ।
एक प्रत्यक्षदर्शीले त्यहाँ पूर्ण अन्धकार (ब्ल्याकआउट) छ र उनीहरूले साइरनको आवाज सुनेको बीबीसीलाई बताएका छन्
पाकिस्तानसँग सैन्य टकराब परिरहेका बेला पन्जाब, जम्मु कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका गरी २४ भारतीय विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन्।
नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले देशभरका सबै एयरलाइन्स र विमानस्थललाई सुरक्षा उपाय बढाउन निर्देशन दिएको छ।
निर्देशनअनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको माध्यमिक भर्याङ पोइन्ट जाँच (एसएलपीसी) गरिनेछ। टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ। एयर मार्सल पनि तैनाथ गरिने भनिएको छ।
एयर इन्डियाले बीसीएएसलाई उद्धृत गर्दै एक्समा लेखेको छ- अब घरेलु यात्रुहरूले तीन घण्टाअगाडि विमानस्थल पुग्नुपर्नेछ र चेक-इन ७५ मिनेट अगाडि बन्द हुनेछ।