पाकिस्तानी सेनाले लाहोरमा भारतीय जासुसी ड्रोन खसाल्यो : कराँची विमानस्थल अस्थायी रूपमा बन्द

पाकिस्तानी सेनाले लाहोरमा भारतीय जासुसी ड्रोन खसाल्यो : कराँची विमानस्थल अस्थायी रूपमा बन्द


  • समाचार एजेन्सीहरु
  • बिहिबार, २५ बैशाख २०८२
  • 7.5K
    Shares

पोखरा, २५ बैशाख २०८२।

पाकिस्तानको लाहोरमा ठुल्ठुला तीन वटा बिष्फोट भएका समाचारहरु सार्वजनिक भैरहेका बेला पाकिस्तानको सेनाले लाहोरमा नै भारतीय जासुसी ड्रोन खसालि दिएको खबर छ।

स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै पाकिस्तानी समाचार आउटलेट समा टीभीले शहरको वाल्टन रोडनजिकै एक भारतीय ड्रोन खसालिएको उल्लेख गरेको छ। यस विषयमा थप जानकारी आइसकेको छैन।

अर्को एक सञ्चारमाध्यमका अनुसार प्रहरी स्रोतहरूले वाल्टन विमानस्थलनजिकै भारतीय ड्रोन खसालेको बताएका छन्। वाल्टन विमानस्थल नजिकै लाहोरको गोपाल नगर र नसीराबाद क्षेत्रको वाल्टन रोडमा धेरै विस्फोट भएका आवाज सुनिएका थिए। मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किए र धुवाँको मुस्लो देखियो।

पाकिस्तानी मिडियाका अनुसार कराँची विमानस्थलमा उडान अस्थायी रूपमा स्थगन गरिएको छ। विस्फोट भएको ठाउँ पाकिस्तानी विमानस्थलको धेरै नजिक छ।

रिपोर्टअनुसार विस्फोटको आवाजपछि प्रहरीले सम्पूर्ण क्षेत्रलाई घेरा हालेको छ र उद्धार टोली घटनास्थलमा पुगेको छ। यद्यपि, हाल विस्फोटमा कति जना घाइते भएका छन् भन्ने कुरा थाहा छैन।

मंगलबार राति मात्र भारतले अपरेशन सिन्दूरअन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको छ।

भारतले आतंकवादी लुक्ने ठाउँमा आक्रमण गरिएको दाबी गरे पनि पाकिस्तानले सर्वसाधारण बस्ने क्षेत्रमा हमला भएको दाबी गरिरहेको छ।

उक्त हमलामा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।

यसैबीच बुधबार बिहान पाकिस्तानले कश्मीर क्षेत्रमा गरेको गोलाबारीमा १५ जना मारिएको र ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ। जसका कारण दुई देशबीच पूर्ण युद्धको खतरा देखिएको छ।

प्रतिक्रिया