विभिन्न ६ वटा मधेसी मोर्चामा आवद्ध ६ दलहरुले एकीकरण गरी भारतीय जनता पार्टीको जस्तै नाम राख्न गरिएको प्रयास विफल हुने भएको छ । निर्वाचन आयोगले चैत २ गते नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको ‘राष्ट्रिय जनता पार्टी’ दर्ता गरेकाले उनीहरुको प्रयास विफल भएको हो l अब यही अवस्थामा मधेसी मोर्चाका छ दलले राष्ट्रिय जनता पार्टी नाम पाउने छैनन् ।
राष्ट्रिय जनता पार्टी दर्ता भैसकेकाले त्यो नाम नपाएपनि त्यही नामका अगाडी या पछाडी नेपाल वा अन्य शब्द थपेर नया पार्टी दर्ता गर्न सकिने कानुनी प्राबधान छ l त्यही कानुनी प्राबधानलाई आधार बनाएर राष्ट्रिय जनता पार्टी नेपाल या अन्य कुनै नाम राख्ने तयारी भैरहेको पत्रकार बिरेन्द्र केएमले आफ्नो फेस्बुक स्टाटसमा लेखेका छन् l
यता राष्ट्रिय जनता पार्टी दर्ता गरेका लिम्बु कुनै समय फोरम गणतान्त्रिकमा आवद्ध थिए । समानुपातिकको सूचीमा पनि परेका थिए । तर, पछिल्लो समय उनले छुट्टै राष्ट्रिय जनता पार्टी दर्ता गरेका छन् । लिम्बु नेतृत्वको राष्ट्रिय जनता पार्टीले तराई मधेसका केही जिल्लामा संगठन समेत विस्तार गरेको छ ।
निर्वाचन आयोगमा राष्ट्रिय जनता पार्टी दर्ता गराएका अध्यक्ष लिम्बुले भने, एउटै पार्टी बनाऔं भन्ने प्रस्ताव आयो भने समायोजनमा जान सकिन्छ । तर, अहिले कुनै प्रस्ताव पनि आएको छैन र हामीले छलफल पनि गरेका छैनौं ।’
