पोखरा, १३ बैशाख २०८२।
गुल्मीस्थित एक घरगोठमा आगलागी हुँदा नौ वर्षीया दिदि भागेर बाचिन्। तर उनको छ वर्षीय भाइको सोही आगलागीमा जलेर मृत्यु भएको छ।
जिल्लाको धुर्कोट गाउँपालिका-१ नयाँगाउँका मनि नेपालीको घरगोठमा आगलागी हुँदा नौवर्षीया दिदी अस्मिले भागेर ज्यान जोगाइन्। तर सोही आगलागीमा परेर उनको ६ वर्षीय भाई बिवेक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
प्रहरीका अनुसार , मनि नेपालीको ढुँगा र माटोले बनेको दुईतले कच्ची गोठमा विवेक र उनकी नौवर्षीया अस्मी नेपाली लाइटर लिएर गोठमा खेलिरहेका थिए । विवेकले लाइटर खोसेर खरमा आगो लगाए। आगो दनदनी बलेपछि दिदी अस्मी हारगुहारका लागि बाहिर गइन्। तर भाइ विवेक दोस्रो तलामा जलेको अवस्थामा मृत फेला परे। आगोले दुई तले कच्ची गोठ जलेर ध्वस्त भएको छ।