पोखरा, ८ बैशाख २०८२।
‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’का ‘जनकमान्डर’ दुर्गा प्रसाईंबिरुद्ध प्रहरीले थप दुई मुद्दामा अनुसन्धान शुरु गरेको छ।
प्रहरी हिरासतमा रहेका प्रसाईंमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान शुरु गरेको हो।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रसाईं गत चैत २९ गतेदेखि प्रहरी हिरासतमा छन्। प्रसाईंमाथि सो घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। सँगै सिआइबीले पनि उनीमाथि बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सुरू गरेको हो।
सिआइबी प्रवक्ता एवं एसपी सुधिरराज शाहीका अनुसार प्रसाईंमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनबाट पक्राउ पुर्जी पनि जारी भइसकेको छ।
राजसंस्था पुनर्स्थापनका लागि भन्दै प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो भने दुई जनाको मृत्यु भएको थियो। प्रसाईं उक्त कार्यक्रमका ‘जनकमान्डर’ थिए। प्रसाईंले तीनकुने क्षेत्रमा प्रहरीलाई गाडीले पेल्दै प्रहरी घेरा तोडेका थिए।
प्रदर्शनमा प्रसाईं हिंसा भड्काएको आरोप छ। प्रसाईंमाथि ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा परिसरले उनीमाथि अनुसन्धान गरिरहेको छ। अब थप दुई वटा कसुरमा पनि प्रसाईंमाथि अनुसन्धान हुनेछ।