पोखरा,८ बैशाख २०८२।
पोखराका दुई जना युवा मोटरसाइकल चोरी गरेको आरोपमा स्याङ्जामा पक्राउ परेका छन्।
पुतलीबजार नगरपालिका – ३ ढडुवाका दिपक चन्द्र गौतमको घर अगाडि पार्किङ गरेर राखेको ग २४ प ६९१२ नम्बरको २२० पल्सर मोटरसाइकल चोरी गरेको आरोपमा पोखराका दुई जना युवा पक्राउ परेका हुन्।
पक्राउ परेका युवाहरुमा पोखरा महानगरपालिका वडा नं. – २३ पुम्दीभुम्दीका २९ वर्षीय जितु विक र वडा नं. – २२ घाँटीछिनाका १९ वर्षीय राम सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
प्रहरीका अनुसार , गौतमले आफ्नो मोटरसाइकल बिहीबार राति चोरी भएको भन्दै प्रहरीलाई खोजतलासका लागि निवेदन दिएका थिए । उक्त निबेदन परेपछि अस्थायी प्रहरी पोष्ट मट्टीखानबाट खोजतलासमा खटिएको प्रहरीले टोलीले मोटरसाइकल खोजि गर्ने क्रममा शुक्रबार साँझ फेदीखोला गाउँपालिका – १ नैखु अयरपानीबाट चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।
पक्राउ परेका दुईजनालाई चोरी मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।