पोखरा,६ बैशाख २०८२।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित आँखा अस्पताल शाखा बाजुराको कार्यालय प्रमुखसहित दुइ जना धनगढ़ीमा लागू औषध सहित पक्राउ परेका छन्।
गेटा आँखा अस्पताल कैलालीका नेत्र सहायक समेत रहेका नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय अंकित कुमार निगम बानियासहित दुई जना लागूऔषध सहित धनगढीमा पक्राउ परेका हुन् । उनको साथमा बाजुराको त्रिणेवी नगरपालिका–८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरीलाई पनि प्रहरीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
उनीहरुको साथबाट प्लाष्टिकसहित १० ग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ८० मिलीग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता डिएसपी कवीन्द्र सिंह बोहराले जानकारी दिए। बानियाले चलाएको लुप्रप्र ०१००१ प ९२७८ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो धनगढीको राजपुरमा चेकजाँच गर्दा पछाडि सवार गिरीले बोकेको झोलाभित्र राखेको अवस्थामा उक्त परिमाणको लागू औषध खैरो हेरोइन बरामद भएको प्रहरीले बताएको छ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।