पोखरा,६ बैशाख २०८२।
दाङमा शुक्रबार साँझ बस दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना यात्रु घाइते भएका छन्।
कृष्णनगरबाट तुलसीपुर जाँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ती गाउँपालिका–५ लठ्ठवा नजिक पूर्व–पश्चिम राजमार्गमा आज बेलुकी ६ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर घोराही उपमहानगरपालिका बन गाउँकी पुस्पा डाँगी र राजपुर स्थायी ठेगाना भई लमही नगरपालिका–५, रातो डाँडाका निलसरोज यादवको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरक्षक धर्म खड्काले जानकारी दिए।
तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको स्थानीयले जनाएका छन् । दुर्घटनामा परेर प्यूठान नगरपालिका–६ निवासी २७ वर्षीया मनिसा गुरुङ्ग, उनकी बहिनी भावना गुरुङ्ग, सोही ठाउँकी ९५ वर्षीया सुमित्रा गुरुङ्ग, लमही–४ की २४ वर्षीया रासु थापा, घोराही उपमहानगरपालिका–१० निवासी ४२ वर्षीय ललित वली, शिवराज नगरपालिकाकी २८ वर्षीया सरस्वती घर्तीमगर, उनकी चार महिनाकी छोरी रिया घर्ती, लमही–५ निवासी २५ वर्षीया संगिता जिसी, घोराही–५ निवासी ५० वर्षीया चोपिकला खत्री, सोही ठाउँका ५० वर्षीय बलबहादुर खत्री घाइते भएका छन् ।
यस्तै शिवराज नगरपालिका–२ निवासी ४५ वर्षीया पिउमाली घर्ती, सोही ठाउँ निवासी २३ वर्षीया सवनम नाउ, प्यूठान नगरपालिका–३ निवासी ५ वर्षीय प्रभास गुरुङ्ग, लमही–५ निवासी २५ वर्षीय साहिद हुसेन घाइते भएको प्रहरीले जनाएको छ । कृष्णनगर नजिक रहेको भारतीय बजारमा किनमेल गरेर फर्किदै गरेकाहरु बसमा सवार थिए । १३ जनालाई थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ भने दुई जना प्राथमिक उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।