पोखरामा स्थानीय कलाकारहरुले स्वरसाम्राज्ञी अरुणा लामा र गायिका तारादेवीका कालजयी गीत गुञ्जाए

पोखरामा स्थानीय कलाकारहरुले स्वरसाम्राज्ञी अरुणा लामा र गायिका तारादेवीका कालजयी गीत गुञ्जाए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ चैत्र २०८१
  • 3.6K
    Shares

पोखरा, ३१ चैत २०८१।

स्थानीय कलाकारहरुले शनिबार पोखरामा नेपाली सांगीतिक क्षेत्रका नक्षत्र स्वरसाम्राज्ञी अरुणा लामा र गायिका तारादेवीको कालजयी गीतहरु गाएर गुञ्जायमान बनाए।

पोखरेली महिला कलाकारको साझा संस्था हार्मोनी र एभरेस्ट एफएमले आयोजना गरेको ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ मा स्थानीय कलाकारहरुले शनिबार पोखरामा नेपाली सांगीतिक क्षेत्रका नक्षत्र स्वरसाम्राज्ञी अरुणा लामा र तारादेवीको गीतहरु गाएर गुञ्जायमान बनाएका हुन् । उक्त कार्यक्रममा उपस्थित जनसमुदायले स्वरसाम्राज्ञी अरुणा लामा र गायिका तारादेवीप्रति श्रद्धाञ्जली प्रकट पनि गरेका थिए।

कला, साहित्यका अध्येता प्रकाश सायमीले उनीहरुका आरोहअवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित नसुनिएका कथा सुनाएर कार्यक्रम सुरुआत गरेका थिए । साथै, हार्मोनीमा आबद्ध कलाकारले सामूहिकरुपमा देवी बन्दना गाएर सांगीतिक कार्यक्रम शुभारम्भ गरे । लगत्तै देवी गुरुङले ‘उडी जाउँ भने’, लक्ष्मी गिरीले ‘काली पारे दाइ कति राम्रो’ एलिना गुरुङले ‘भेटिनु छुटिनु त के हो र’ गीत गाउँदै सांगीतिक माहोल तताए ।

रजनी ऋदम राईले माया गर्नेहरुका लागि समर्पित ‘फूलै फूलको मौसम तिमीलाई’ गाउँदा होस् वा कौशल्या गुरुङले ‘यति धेरै माया दिई’ गाउँदा दर्शक पुराना दिनमा ‘नोस्टाल्जिक’ बने । कलाकार एकपछि अर्को गर्दै स्टेज छढ्दै जाँदा सांगीतिक माहोल तातिदै गयो।

गायिका ईतु जोजिजूले उकाली ओरालीहरुमा’ गाउँदा होस् वा उनले आफ्ना पति रामभक्त जोजिजूसँग युगल स्वरमा ‘लुकुँ लुकुँ लाग्यो मलाई’ गाउँदा दर्शकको ताली पाइरह्यो ।

गायिका शीतल थापाले ‘सागुरी बारि नि है’ र शीतलले रामभक्त जोजिजूसँग युगल स्वरमा ‘ए कान्छा मलाई सुनको तारा’ तथा मीतु पालले ‘तिम्रा पाउहरूमा म’ गीत गाउँदा सांगीतिक महोल नै छुट्टै बनेको थियो ।

काठमाडौंमा क्रियाशील महिला गायिकाको सांगीतिक समूह सुरशक्ति नारी समूहकी अध्यक्ष संगीता राना प्रधानले ‘फूललाई सोधें’ गीत गुञ्जाउँदा सांगीतक माहोल सुनमा सुगन्ध थपेझैं भएको थियो । यस्तै, बोबी सुनारले ‘पोहोर साल’ गीतको बोलमा (धुन) सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाइन् ।

त्यस्तै, पोखरेली कलाकारले समूह गानतर्फ ‘यो मायालाई भरोसा छैन’, ‘हाम्रो साहेब’ (मायाप्रिती चलचित्रबाट), र ‘सुङावा जस्तो जीवन’ (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गर्दै कार्यक्रमलाई भव्य बनाए ।

एभरेस्ट मिडिया हाउस अध्यक्ष कर्मा तमुको अध्यक्षतामा भएको कार्यक्रमका संयोजक एवं एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले एफएमले स्वरसाम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसमा हरेक वर्ष माघ तेस्रो शनिबार कार्यक्रम गर्दै आएको बताए ।

गत माघमा हार्मोनीका एक सदस्य सञ्जीव पालको असामयिक निधनले निर्धारित कार्यक्रम सरेको हो । तारादेवीको माघ १० र अरुणा लामाको माघ २२ गते स्मृति दिवस पर्छ । यसपालिको कार्यक्रम तेस्रो संस्करण हो ।

पोखरा महानगरपालिकाको प्रबर्द्धन र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यक्रमका लागि विभिन्न संघसंस्थाले साथ दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार