पोखरा, २७ माघ २०८१।
ललितपुरबाट चार वर्षीय बालकलाई अपहरण गरेर भारतको पन्जाब लैजाँदै गर्दा एक जना भियतनामी युवा पक्राउ परेका छन्।
तीन दिन अघि ललितपुर महानगरपालिका-१२ पाटनबाट अपहरणमा परेका चेपाङ थरका चार वर्षीय बालकलाई पञ्जाल लैजाने तयारी गर्दैगर्दा आज काठमाण्डौको कलंकीको होटलबाट प्रहरीले उद्धार गरेको छ भने ती बालकलाई अपहरण गरेको आरोपमा भियतनामको चाइवाङ सिटीनिवासी २३ वर्षीय भियतनामी नागरिक मि हाङ किन्हालुनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका ती भियतनामी युवाले अपहरित बालकलाई पन्जाब लैजान बसको टिकट काटिसकेको र पन्जाबमा लुकाएर राख्न स्थानको ब्यबस्था गरेको भेटिएको प्रहरीले बताएको छ।
अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको थियो ।
२७ डिसेम्बर २०२३ मा नेपाल आएका ती भियतनामी युवा ११ दिन नेपाल बसेपछि उनी भारतको नयाँ दिल्ली गएका थिए । २७ अप्रिल २०२४ मा भारतको पञ्जाबबाट सडकमार्ग हुँदै पुन नेपाल आएर बसोबास गरेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो ।
भारतबाट नेपाल आएपछि उनी स्वयम्भूस्थित एक होटलमा दुई महिनासम्म बसेका थिए । ठमेलस्थित एक होटलमा एक हप्ता बसे । ठमेलको होटलमा एक हप्ता बसेपछि उनी बानेश्वरस्थित कात्यानी चोकमा रहेको ग्राण्ड अल्फ्रेन्सको ब्वाइज होस्टलबा बसेको एक अनुसन्धान अधिकृतले बताए ।
काठमाडौंमा ठाउँ फेरि फेरि बसेका उनी स्वयम्भू, बौद्ध, कपन लगायत गुम्बाहरुमा लामा भाषा सिक्न भन्दै जाने समेत गरेका थिए । घुमफिरमा भने उनी अक्सर ललितपुरको पाटन दरबार स्क्वायर जाने गरेको पाइएको छ ।
२५ माघको बिहान साढे १० बजेतिर काठमाडौंबाट वीरगञ्ज जाने ‘न्यू साजन एसी सोफा विथ स्लीपर कोच’ नामको ६८१८ नम्बबरको बसको सिटी ‘बी’ को ३ र ४ नम्बरको टिकटसमेत उनले बुकिङ गरेका थिए । बस चढेर वीरगञ्ज जान भन्दै उनी इलाम मेची गेस्ट हाउसको १०७ नम्बर कोठामा बसेका थिए ।
प्राविधिक अनुसन्धानबाट उक्त कुरा पत्ता लगाएर प्रहरीले गेस्टहाउसमा छापा मारेर बालकलाई उद्धार गर्नुका साथै भियतनामी नागरिकलाई पक्राउ गरेको हो । उद्धार गरिएका बालकलाई पाटन अस्पतालमा उपचार गराई अवस्था सामान्य रहेको खुलेपछि परिवारको जिम्मा लगाइएको छ ।
पक्राउ परेका भियतनामी नागरिकबाट प्रहरीले चक्कु, बसको टिकट, नक्कली भारतीय आधार कार्ड, भियतनामी मुद्रा, तीन थान मोबाइल र ल्यापटपसमेत बरामद गरेको छ ।