पोखरा , १७ माघ २०८१।
अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको निष्कर्षमा पुगेको अछाम प्रहरी उनीहरुलाई किन र केका लागि हत्या गरियो भन्ने बारेमा यसै भन्न सक्ने अवस्थामा छैन।
अनुसन्धानलाई तिब्रता दिन र सहज बनाउन सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द मंगलबार साँझदेखि जिल्ला प्रहरी कार्यालय अछाममै मुकाम बनाएर बसिरहेका छन्। डिआइजी चन्दसंगै प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेषज्ञ अनुसन्धान टोली घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका लागि काठमाडौँबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि बुधबार अछाम पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारी विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउछन। दुई किशोरीहरूको शव पोस्टमार्टका लागि आइतबार नेपालगञ्ज पठाइएको थियो । उनीहरूको भेरी अस्पतालमा पोस्टमार्टम गरिएको छ भने रिपोर्ट आउन बाँकी छ । स्वाब सङ्कलन गरेर परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।
मृतक दुई किशोरी एउटै परिवारका हुन् । ढकारी गाउँपालिका–८, का वडाध्यक्ष उद्धराज उपाध्यायले दिएको जानकारी अनुसार सरस्वती इशराकी फुपू नाता पर्छिन् ।
शुक्रबार बिहान ११ बजेतिर उनीहरू बाख्रा लिएर गाउँ नजिकैको सोरशा सामुदायिक वन सिम्लेओडारतर्फ गएका थिए । उक्त वन ढकारी गाउँपालिका–१, मा पर्छ । बिचमा रहेको खोलाले दुई वडाको सिमाना छुट्याउँछ । घटनास्थल र किशोरीको गाउँ खासै टाढा छैन ।
नाताले फुपु–भतिजी परे पनि साथीजस्ता थिए, उनीहरू । कमलबजार नगरपालिका–१० घोडासैनस्थित विद्या प्रवर्दनी माविमा दुवै कक्षा ८ मा अध्ययनरत थिए ।
स्कुलमा राष्ट्रपति रनिङ सिल्डअन्तर्गत कार्यक्रम चलिरहेकाले उनीहरू त्यो दिन घरमा परिवारलाई सघाउने र शनिबार खेल हेर्न जाने योजनामा थिए ।
यद्यपि उनीहरूको योजना भने सधैँका लागि असफल बन्यो । गोठाला गएका उनीहरू सधैँका लागि अस्ताए । बेलुका अवेरसम्म फर्किएनन्, बाख्रा भने फर्किए । उनीहरू घर नआएपछि परिवारले सोधीखोजी गर्न थाले ।
शनिबार बेलुका ६ बजेतिर दवै किशोरी जंगलमा मृत अवस्थामा भेटिए । प्रहरीका अनुसार दुई किशोरीको शव १५ मिटरकै दूरीमा थिए । शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति हेर्दा हत्या नै भएको प्रहरीको निचोड छ ।
घटनास्थलसम्म पुगेका वडाध्यक्ष उपाध्यायका अनुसार दुवै किशोरीको शरीरमा ढुंगाले हानेको चोटहरू छन् ।
‘अनुहारमा पनि पुरै चोटैचोट मात्र देखिन्थे,’ उनले रातोपाटीसँग भने, ‘हत्या नै भएको हो । बाँकी त अनुसन्धानबाट आऊला ।’
अनुसन्धानका लागि प्रहरीले शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै सोधपुछ गरिरहेको छ । किशोरीका परिवारले मंगलबार दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । सरस्वतीका ठूलोबुवा तथा इशराका हजुरबुबा अबि खड्काले सोही गाउँपालिका–३, का १७ र १५ वर्षीय किशोर विरुद्ध किटानी जाहेर दिएका हुन् ।
प्रहरीले ती दुई किशोरलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । ‘मृतक एक किशोरीसँग उनीहरूको नियमित फोन सम्पर्क भइरहेकाले उनीहरूमाथि शंका गरिएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘प्रेम सम्बन्ध भन्दापनि इष्टमित्र (विवाह चल्ने) भएकाले केटाहरूले विवाहका लागि एक किशोरीसँग जबर्जस्ती गरेको तर उनले नमानेपछि हत्या गरेको हुनसक्ने सम्भावना देखिन्छ ।’
एउटाको हत्या पश्चात् अर्कोले भनिदिन्छे भन्ने डरले दुवैको हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।
स्थानीयहरूका अनुसार जाहेरी दिएका किशोरहरू मृतक किशोरीका परिवारका आफन्त (इष्टमित्र) हुन् । प्रारम्भीक अनुसन्धानबाट हत्याको पुर्व योजना नभई विवाह प्रस्ताव अस्वीकार भएपछि घटेको देखिन्छ ।
साथै घटना भवितव्य भएको देखाउनलाई माथिबाट ढुंगाहरू खसालेको जस्तो देखिएको प्रहरी र स्थानीयको भनाइ छ ।
स्थानीयले सोही दिन ती किशोरहरू जंगलतर्फ गएको देखेका थिए भने फोन सम्पर्क पनि उनीहरूको भइरहेको देखिएकाले उनीहरूमाथि अनुसन्धान भइरहेको हो ।
साथै गाउँकै एक व्यक्तिले शुक्रबार दिउँसो ढुंगा खसाल्दै गरेको पनि देखेको थिए ।
अछामका प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारी भन्छन्, ‘अनुसन्धान निकै प्रभावकारी रुपमा भइरहेको छ । हामी केही दिनमै औपचारिक रुपमा जानकारी गराउँछौँ ।’
वडाध्यक्ष उद्धवराज उपाध्यायका अनुसार मंगलबार बेलुका ल्याएर मृतक किशोरीको बुधबार गाउँकै खोलामा दाहसंस्कार गरिएको छ ।