पाकिस्तानमा भारतका कथित जासुस कुलभूषण सुधीर जाधवलाई मृत्युदण्डको सजाय सुनाइएको छ।
पाकिस्तानले उनी भारतीय गुप्तचर निकाय ‘रअ’ का एजेन्ट भएको दाबी गर्दै आएको छ। कुलभूषण जाधवलाई सन् २०१६ को ३ मार्चमा बलुचिस्तानमा गिरफ्तार गरिएको थियो। उनीमाथि पाकिस्तानको जासुसी गरेको आरोप छ। सो आरोपमा उनीमाथि पाकिस्तानमा सैनिक कानुनअनुसार सैनिक अदालतमा मुद्दा चलिरहेको थियो। यसमा कुलभूषणमाथिको आरोप सही साबित भएको भन्दै मृत्युदण्डको सजाय तोकिएको हो।
पाकिस्तानका सैनिक प्रमुख कमर जाभेद बाजवाले कुलभूषणलाई मृत्युदण्डको सजाय भएको पुष्टि गरेका छन्। उनले कुलभूषणलाई आफ्नो बचाउका लागि कानुनी सहायता समेत उपलब्ध गराएको दाबी गरेका छन्।
भारतले भने उनी जासुस भएको भन्दै पाकिस्तानी आरोपको खण्डन गर्दै आएको थियो । भारती विदेशमन्त्रालयले भनेको थियो, ‘हाम्रो अनुसन्धानमा पत्ता लागेको छ कि भारतीय नागरिकलाई प्रताडित गरिएको छ, जो इरानबाट कानुनी तरिकाले आफ्नो कारोबार सञ्चालन गरिरहेका थिए । हामी उनको अपहरण भएको हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न ।’
मन्त्रालयले आरोप निराधार रहेको दाबी गर्दै आएको छ । पाकिस्तानले आफ्नो आरोपको सबुतमा सेना र सरकारको एक साता पत्रकार सम्मेलनमा कुलभूषण जाधवको भिडियो देखाइएको थियो । भिडियोमा यी व्यक्तिले भारतीय नौसेनाका अधिकारी र भारतीय गुप्तचर एजेन्सी ‘रअ’ को सदस्य भएको बताएका छन् । तर भारतीय विदेश मन्त्रालयले भने उनले सामान्य रुपमा नै बयान लिएकोमा आशंका जनाएको छ ।
६ मिनेटको सो भिडियोमा कुलभूषणले १९९१ मा भारतीय नौसेनामा सामेल भएको र सन् २०१३ देखि ‘रअ’ का लागि काम गर्न सुरु गरेको बताएका छन् । उनको गिरफ्तारीको मुद्दा संयुक्त राष्ट्र संघ सम्म पनि उठाइएको थियो ।
भारत आक्रोशित
यसैबीच भारतले आफ्ना नागरिकलाई मृत्युदण्डको सजाय दिने फैसलाको कडा विरोध जनाउँदै यसलाई जाधवको सुनियोजित हत्या गर्ने कोशिसको संज्ञा दिएको छ। पाकिस्तानले भारतीय गुप्तचर एजेन्सी ‘रअ’ को एजेन्ट भएको भन्दै जाधवलाई मृत्युदण्डको सजाय दिने फैसला गरेपछि भारत आक्रोसित बनेको हो।
भारत सरकारले जाधवलाई गत वर्ष बलुचिस्तानबाट नभई इरानबाट अपहरण गरेको आरोप लगाउँदै यस विषयमा कहिल्यै विश्वसनीय ढंगले नभनिएको जनाएको छ । इस्लामाबादस्थित भारतीय दूतावासले अन्तर्राष्ट्रिय कानुनअनुसार २५ मार्च २०१६ देखि ३१ मार्च २०१७ सम्म १३ पटक जाधवलाई भेट्न अनुमति मागेपनि नदिइएको भारतको दाबी छ । उनलाई मृत्युदण्डको सजाय सुनाएपछि महाराष्ट्रस्थित कुलभूषणको घरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
कुलभूषण रिटायर्ड अफिसर : भारत
भारतीय विदेशमन्त्रायले जारी गरेको विज्ञप्तिमा कुलभूषणलाई दबाब दिएर भारतीय गुप्तचर अधिकारी भएको स्वीकार गर्न लगाइएको दाबी गरेको छ । पाकिस्तानी सरकारी अधिकारीले कुलभूषण जाधवको ६ मिनेट लामो भिडियो जारी गरेका छन् । सो भिडियोमा उनी आफैले ‘रअ’ लागि काम गरिरहेको बताएका छन् । उनको गिरफ्तारीपछि भारतले कुलभूषण भारतको नौसेनाबाट सेवानिवृत्त भइसकेको जनाएको छ । सेवा निवृत्त भइसकेपछि सरकारसँग उनको कुनै सम्पर्क नरहेको पनि भारत सरकारको दाबी छ ।
दक्षिण एसियाली क्षेत्रमा परम्परागत दुस्मन शक्तिका रुपमा देखिएका भारत र पाकिस्तानबीच गत वर्षदेखि बढ्दो अविश्वासकैबीच भएको यो घटनाले थप अस्थिरता बढाउने देखिएको छ । काश्मीर र बलुचिस्तानका बिषयलाई लिएर गत वर्ष भारत र पाकिस्तानबीच जुहारी नै चलेको थियो ।
भारत प्रशासित काश्मिरमा जारी मुस्लिम समुदायको आन्दोलनलाई पाकिस्तानले समर्थन गरेपछि भारतले पनि बलुचिस्तानको मुद्दा उठाएको थियो । राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पाकिस्तानतर्फ संकेत गर्दै सिसाको घर हुनेले अर्काको घरमा ढुंगा हान्न नहुने तर्क राखेकी थिइन्।
भारत प्रशासित काश्मिरमा हिजबुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीको गत वर्षको जुलाईमा प्रहरीले हत्या गरेपछि काश्मिर हिंसा चर्किएको हो। आजको राजधानी दैनिकले खबर छापेको छ।