पोखरा, ८ मंसीर २०८१।
अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपाली युवाको मृत्यु भएको छ । अमेरिकाको भर्जिनियामा शुक्रवार बिहान भएको कार दुर्घटनामा परी दुई जना नेपालीको मृत्यु भएको हो।
मृत्यु हुने दुई जना मध्ये एक जना नेपाली युवा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ७ का सुरेश केसी रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै संचार माध्यमहरुले जानकारी दिएका छन्। अर्का नेपाली युवा बर्दियाका विवेक सुवेदी भएको बताइएको छ।
काठमाडौंका मेहुल श्रेष्ठ घाइते भएका हुन् । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।
उक्त घटना गराएको आरोपमा कारका चालक ३० बर्षिय विजय तामाङ नाम गरेका नेपाली युवालाई भर्जिनियाको लाउडन काउन्टीको प्रहरी नियन्त्रणमा राखिएको प्राप्त समाचारमा जनाइएको छ।
कार चालक तामाङले मादक पदार्थ सेवन गरेको प्रहरीले बताएको छ। नेपाली चालकलाई ज्यान मार्ने उद्योग मुद्दा लगाईएको छ ।
