मुम्बई प्रहरीले सलमान खानको कारलाई पछ्याएको आरोपमा उजैर फैज मोहिउद्दीन नामका एक युवकलाई पक्राउ गरेको छ। ती युवक मुम्बईको बान्द्राका बासिन्दा हुन्। प्रहरीले उनलाई पक्राउ गरी मोटरसाइकल पनि बरामद गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सेप्टेम्बर १८ (बुधबार) मध्यरात ती युवकले निकै तीव्र गतिमा बाइक चलाएको आरोप लगाइएको छ र सलमानको कारको नजिक पुगेको प्रहरीको भनाइ छ।
प्रहरीले युवकविरुद्ध एफआइआर पनि दर्ता गरेको छ। सलमान खानलाई यसअघि नै लरेन्स बिश्नोईबाट ज्यान मार्ने धम्की आइसकेको छ। जसका कारण उनीहरुको सुरक्षामा निकै कडाइ गरिएको छ।
उनी मुम्बईको मेहबुब स्टुडियो नजिकैबाट कारमा गइरहेका थिए। यसपछि तीव्र गतिको बाइक उनको कारको नजिक पुग्छ। सलमानको सुरक्षामा खटिएका प्रहरीले ती युवकलाई धेरैपटक टाढा जान आग्रह गरे तर मानेनन्। युवकको बाइक चलाउने तरिका निकै खतरनाक थियो।
घटना सार्वजनिक आएपछि प्रहरीले सलमानको ग्यालेक्सी अपार्टमेन्टमा तैनाथ सुरक्षाकर्मीलाई पनि जानकारी गराएको छ।