बैंक खाताबाट ३ करोड ३० लाखभन्दा धेरै रकम निकाल्ने ८ जना पक्राउ

बैंक खाताबाट ३ करोड ३० लाखभन्दा धेरै रकम निकाल्ने ८ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ चैत्र २०७३
  • 27K
    Shares

बैंक खाताका डिजिटल कोडहरु अनाधिकृत रुपमा हात पारेर त्यसको दुरुपयोग गरी ३ करोड ३० लाख रुपैयाँभन्दा धेरै रकम निकाल्ने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले मुख्य योजनाकारसहित आठ जनालाई मंगलबार सार्वजनिक गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट महाशाखाको टोलीले तिनलाई सोमबार नियन्त्रणमा लिएको थियो । उनीहरुले अनाधिकृत रुपमा हात पारेका बैंक खाताका पासकोर्डहरुलाई म्याग्नेटिक स्टिप कार्ड रिडर (एमएसआर) नामक मेसिनमार्फत खाली एटिएम कार्डहरुमा भर्थे । त्यस्तो एटिएमको प्रयोग काठमाडौं उपत्यका र भारतका ठूला ठूला उद्योगी व्यापारी तथा विभिन्न कम्पनीहरुले व्यावसायिक कारोवार सञ्चालनका निम्ति उपयोग गर्ने पोईन्ट अफ सेलमार्फत हात पार्थे । पोईन्ट अफ सेल भनेको एटिएम कार्ड स्वीप गर्ने मेसिन हो, जसलाई ठूलो कारोबारी र होटलहरुले डिजिटल आर्थिक कारोबारका निम्ति उपयोग गर्छन् ।

महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार गिरोहका सदस्यहरुले बैंकको पासकोर्डहरु गैरकानूनी रुपमा सञ्चालित भर्चुअल चोरी बजार बिट क्वाईन सेलबाट किनेका थिए ।
ती समूहले दुई वर्षको अवधिमा तीन करोडभन्दा बढी चोरी गरेको प्रहरीले जनाएको छ । यही समूहले दुई वर्षअगाडि कास्कीको पोखरास्थित टीका रिसोर्टबाट २ करोड, नयाँदिल्लीको चारवटा कपडा पसलबाट भारतीय रुपैयाँ ३ लाख, एक वर्षअघि क्षेत्रपाटीस्थित डिसोभिनियरबाट ३० लाख, ९ महिना अगाडि चाबहिलस्थित चाँदनी ज्वेलर्सबाट ४७ लाख, ३ महिनाअघि भक्तपुरको पौराणिक थान्का तथा माला पसलबाट ४५ लाख र १५ दिनअघि महाराजगन्जस्थित लिक्वायर कम्पनीबाट ४ लाख रुपैयाँ अनाधिकृत रुपमा निकालेको देखिन्छ ।

महाशाखाका अनुसार यस्तो गिरोहले कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको एडिडासको सोरुममा रहेको एटिएम स्वीप मेसिनबाट समेत प्रत्येक दिन दस लाख निकाल्ने योजना बनाएका थिए । महाशाखाका अनुसार विभिन्न पसल र होटलहरुको स्वीप मेसिन उपयोग गरेबापत गिरोहका सदस्यले निश्चित रकम दिने गरेको देखिन्छ ।

अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नेपालका ६ जना र भारतका दुईजना छन् । चोरीका मुख्य योजनाकार दोलखा भिमेश्वरका ३४ वर्षीय सुरेश केसी, ललितपुर कुसुन्तीका ३१ वर्षीय केवलप्रताप जबरा, काठमाडौं क्षेत्रपाटीका ३० वर्षीय अनुज नकर्मी, २७ वर्षका अभिषेक नकर्मी, २३ वर्षका रोमन महर्जन छन् । त्यस्तै, पौराणिक थान्का तथा माला सप्लायर्स, भक्तपुरका सञ्चालक काभ्रे मेच्छेका ३२ वर्षीय विजय लामा दोङ पनि पक्राउ परेका छन् । कुसुन्तीका जबरा दुई वर्षअघि बैंकिङ कसुरमा प्रहरी परिसर ललितपुरबाट कारबाही भोगिसकेका व्यक्ति हुन् ।

पक्राउ पर्ने भारतीय नागरिकहरु २९ वर्षीय नदिम खान र ३१ वर्षीय आईटी ईन्जिनियर अभिषेक पाण्डे छन् । खान भारत नयाँदिल्ली आश्रमका र पाण्डे लखनउ जिल्ला माडियाउँ थाना जानकीपुरम टोलका बासिन्दा हुन् । डिसोभिनियर क्षेत्रपाटीका सञ्चालक खान काठमाडौं क्षेत्रपाटीमा र आइटी इञ्जीनियर खान बानेश्वर बस्दै आएका थिए ।

महाशाखाले पक्राउ परेकाहरुलाई बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । महाशाखामा प्रमुख एसएसपी दिनेश अमात्यले प्रविधिको उपयोग गरी भएको यस्तो ठगी नेपालका निम्ति नयाँ हो । उनले भने, ‘यही गिरोहले अन्य ठाउँबाट पनि करोडौंको रकम निकालेको सूचना प्राप्त भएको छ । जसबारे विस्तृत अनुसन्धान चल्दैछ ।’

प्रतिक्रिया