पोखरा,१४ साउन २०८१।
अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले एक जना नेपालीको हत्या गरेका छन् । रुकुमको बाँकेकोट–१० घर भएका ३० वर्षीय दीपक वलीको हत्या भएको हो ।
आइतबार विहान एल्म मोटको आई ३५ र रस रोड नर्थमा रहेको गेटोर स्टप ३ मा उक्त घटना भएको हो । ग्यास स्टेशनमा क्यासियरका रुपमा काम गर्दै आएका वलीको तीन जना लुटेराको समूहाले गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय संचार माध्यमहरुले जानकारी दिएका छन्।
अधिकारीहरुका अनुसार घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ । अहिले घटनाको अनुसन्धान भइरहेको छ ।
गतबर्षमात्र अमेरिका पुगेका वलीका नेपालमा ५ बर्षिया छोरी, पत्नी र मातापिता मात्र रहेका छन् । मृतक वली ग्रीनकार्डको प्रकृयामा रहेको बताइएको छ ।
लुटेराहरुले उनलाई गोली प्रहार गर्नु अघि आइतबार बिहान ३ बजेतिर अर्कै ग्याँस स्टेशनमा पनि लुटपाटको कोशिश गरेका थिए । त्यहाँ पनि क्लार्कको काम गरेका नेपालीलाई कुटपिट गरेका थिए।