काठमाण्डौको ढलमा देखियो, पोलियो भाइरस : पाँच वर्षमुनिका बालबालिकाहरूलाई पुनः पोलियो थोपा खुवाइने

काठमाण्डौको ढलमा देखियो, पोलियो भाइरस : पाँच वर्षमुनिका बालबालिकाहरूलाई पुनः पोलियो थोपा खुवाइने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ साउन २०८१
  • 8.7K
    Shares

काठमाण्डौमा ढल

पोखरा, ४ साउन २०८१।

काठमाडौंको ढलमा पोलियो भाइरस देखिएको छ । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस देखिएको हो।

परिवार कल्याण महाशाखा अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले पोलियो मुक्त देश घोषणा भएको १० वर्षपछि नेपालमा पहिलो पटक पोलियो भाइरस देखिएको जानकारी दिंए। ढलमा पोलियो भाइरस देखिए पनि मानिसमा हालसम्म पुष्टि भने नभएको उनले बताए ।

खोप शाखा प्रमुख डा. गौतमका अनुसार जेठ ३१ गते ढलमा संकलित दिशाको नमुना प्रयोगशालामा परिक्षण भएकोमा असार २९ गते आएको रिपोर्टमा उक्त नमूना परिक्षणमा पोलियो भाइरस देखिएको हो।

पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । पोलियो भाइरस पी१, पी२, पी३ गरी तीन प्रकारका हुन्छन् र तीनवटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ। यो रोगलाई ‘पोलियोमाइलाइटिस’ भनिन्छ ।

पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ र पक्षघात भएपछि निको हुँदैन । यो रोगबाट मृत्यु पनि हुनसक्छ । पोलियोको उपचार छैन, तर खोप लगाएर बच्चाहरूलाई पोलियो लाग्नबाट बचाउन सकिन्छ ।

नेपाललाई सन् २०१४ मा पोलियोमुक्त देश घोषणा गरिएको थियो । सन् २०१० सेप्टेम्बरपछि नेपालमा पोलियोको भाइरस देखिएको थिएन ।

नेपाल पोलियो रोगमुक्त भएतापनि सन् २०१७ देखि काठमाडौंका विभिन्न पाँच ठाउँबाट महिनाको दुई पटक र उपत्यका बाहिर विराटनगर, जनकपुर र पोखराबाट महिनाको एक—एक ठाउँबाट एक पटक नमुना संकलन गरेर परीक्षण गरिदै आएको छ ।

उपत्यकाको वातावरणमा पोलियो भाइरस देखिएपछि सरकारले पाँच वर्षमुनिका बालबालिकाहरूलाई पुनः पोलियो थोपा खुवाउने योजना बनाएको छ ।

ढलमा पोलियो भाइरस भेटिएपछि ९ १०, ११ र १२ साउनमा काठमाडौं उपत्यकाका ५ वर्षमुनिका बालबालिकालाई पोलियो दिने भ्याक्सिन महाशाखाले जनाएको छ ।

प्रतिक्रिया