अमेरिकाले उत्तर कोरियाविरुद्ध सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले आफ्ना उत्तेजक कार्य नरोके वासिंगटनले प्योङयाङविरुद्ध सैनिक कारबाही गर्ने चेतावनी अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले दिएका हुन् । एसियाली तीन देशको भ्रमणका क्रममा दक्षिण कोरिया पुगेका विदेशमन्त्री टिलरसनले सिउलमा आयोजित पत्रकार सम्मेलनमा सो चेतावनी दिएका हुन् ।
‘वासिंगटनको धीरता समाप्त भयो’
विदेशमन्त्री टिलरसनले उत्तर कोरियाप्रति वासिंगटनको ‘रणनीतिक धीरता’ समाप्त भएको बताए । ‘दक्षिण कोरियाली फौज वा अमेरिकी सेनालाई खतरा हुने कुनै कार्य गरेमा उत्तरले उचित जवाफ पाउनेछ । आवश्यक परे अमेरिकाले उत्तरलाई सैन्य हमलासमेत गर्नेछ,’ टिलरसनले भने ।
विदेशमन्त्री टिलरसन एसियाका तीन देशको भ्रमणका क्रममा शुक्रबार दक्षिण कोरिया पुगेका थिए । यसअघि उनले जापान भ्रमण गरेका थिए । उनी शनिबार चीन पुगेका छन् ।
उत्तर कोरियाको आणविक परीक्षणपछि कोरियाली प्रायद्वीपमा तनाब बढिरहकै वेला टिलरसनले एसियाको भ्रमण गरेका हुन् । विदेशमन्त्री टिलरसनले उत्तर कोरियालाई आणविक रूपमा निशस्त्रीकरण गर्ने २० वर्ष लामो अमेरिकी प्रयास विफल भएको बताए । उत्तर कोरियाबारे नयाँ नीति आवश्यक रहेको उनले औँल्याए । तर, त्यसबारे उनले कुनै विस्तृत विवरण भने दिएनन् ।
बदला नलिन चीनलाई आग्रह
शनिबार चीन पुगेका विदेशमन्त्री टिलरसनले बेइजिङप्रति वासिंगटनको दृष्टिकोण प्रस्तुत गर्नेछन् । टिलरसनको बेइजिङ भ्रमणका क्रममा चीनले पनि आफ्नो धारणा सार्वजनिक गर्दै छ । दक्षिण कोरियामा उनले उत्तरका आणविक कार्यक्रम विफल पार्ने संयन्त्र ‘थाड’को विरोध नगर्न चीनसँग आग्रह गरेका थिए । उत्तर कोरियाका आणविक हमला निस्तेज पार्न अमेरिकाले दक्षिण कोरियामा सो संयन्त्र स्थापना गर्दै छ । दक्षिण कोरियाविरुद्ध चीनको बदलापूर्ण कारबाही रोक्न पनि उनले बेइजिङलाई अनुरोध गरे । ‘दक्षिण कोरियाविरुद्ध बेइजिङले लिँदै आएको आर्थिक बदला अनुचित छ, यो कार्य तत्काल रोकिनुपर्छ,’ उनले भने । उत्तर कोरियाविरुद्ध पूर्णरूपमा प्रतिबन्ध लगाउन पनि उनले बेइजिङलाई आह्वान गरे ।
रणनीतिक महत्वको क्षेत्रमा टिलरसन
विदेशमन्त्री टिलरसन उत्तर र दक्षिण कोरियालाई छुट्याउने विशाल पर्खालले घेरेको सीमामा पुगेका थिए । सन् २०१२ मा पूर्वराष्ट्र«पति बाराक ओबामा सो सीमा क्षेत्रमा पुगेपछि दक्षिण कोरिया भ्रमणमा पुग्ने प्रायः सबै अमेरिकी उच्च अधिकारी त्यहाँ पुग्ने गर्छन् । रणनीतिक महत्वको सो क्षेत्रमा २८ हजार अमेरिकी सेनाले दक्षिण कोरियाली सेनालाई सैन्य अभ्यास गराइरहेको छ, जुन कार्यले उत्तर कोरियालाई क्रुद्ध बनाएको छ ।
‘उत्तरलाई करोडौँ डलर सहयोग गर्यौँ’
अमेरिकाले उत्तर कोरियालाई करोडौँ डलर सहयोग गरेको, तर त्यसको बदलामा प्योङयाङले एकपछि अर्को आणविक परीक्षण गरेको उनले बताए । ‘सन् १९९५ देखि अमेरिकाले उत्तर कोरियालाई एक अर्ब तीन करोड डलर सहयोग प्रदान गरेको छ, बदलामा प्योङयाङले आणविक हतियार, विस्फोट र क्षेप्यास्त्र आक्रमणलाई तीव्र पारेको छ,’ उनले भने ।
उत्तर कोरियासँग वार्ता हुन्न
निर्वाचन अभियानमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्न इच्छुक भएको बताएका थिए । राष्ट्रपति टम्पको कार्यकालमा वासिंगटन र प्योङयाङबीचको दूरी घट्ने अनुमान गरिएको थियो । तर, कोरियासँग तत्काल कुनै वार्ताको सम्भावना नरहेको टिलरसनले बताए । ‘उत्तर कोरियासँग तत्काल वार्ता सम्भावना छैन,’ उनले भने । अमेरिकाले उत्तर कोरियाविरुद्ध गर्ने कारबाहीका लागि वासिंगटनले सबै मुलुकलाई आह्वान गर्नेसमेत उनले बताए ।