पोखरा, १६ जेठ २०८१/
पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले मङ्गलवार एक समारोहका बीच पोखरा महानगरलाई “पूर्ण खोप सुनिश्चितता दिगोपना महानगर” घोषणा गरेका छन्।
महानगर क्षेत्रमा रहेका नवजात शिशुदेखि ५९ महिनासम्मका २९ हजार तीन सय ११ बालबालिकालाई घर मै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरिएको भन्दै नगरप्रमुख आचार्यले पोखरा महान्गरारलाई “पूर्ण खोप सुनिश्चितता दिगोपना महानगर” घोषणा गरेका हुन्।
पोखरा महान्गरारलाई “पूर्ण खोप सुनिश्चितता दिगोपना महानगर” घोषणा गरिरहँदा खोपको कुनै पनि मात्रा प्राप्त नगरेका चार जना र एकसय ३२ जना आंशिक खोप प्राप्त गरेका बालबालिकाहरू समेतलाई नियमित खोप सेसन र आकस्मिक खोप सेसनमा समावेश गरी पूर्ण खोप प्रदान गरिएको पोखरा महानगरपालिकाको कार्यालयले जनाकारी दिएको छ ।

पोखरा महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नु अघि ३३ वटै वडामा पूर्ण खोप सुनिश्चितता गरिएको थियो । यस क्रममा आठ सय ९० जना स्वास्थ्यकर्मी र छसय ५२ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई घरधुरी सर्वेक्षण देखी खोप लगाउने कार्यसम्म परिचालन गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।
घोषणा सभामा नगर प्रमुख आचार्यले पोखरा महानगरपालिका बालबालिकाहरूलाई आवश्यक सबै खोपहरू प्रदान गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए । एक जना बालबालिकालाई १३ प्रकारका खोपहरू प्रदान गर्दा ६० हजार बराबर लगानी हुने गरेको जानकारी दिंदै मेयर आचार्यले यसको महत्वलाई बुझ्न आवश्यक रहेको उल्लेख गरे । उमले खोप लगाउन छुटेका बालबालिकाहरूलाई पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयमसेविकाहरुलाई प्रति बच्चा रु.दुई हजार पुरस्कार दिने घोषणा समेत गरे ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सरकारका विभिन्न आवधिक योजनाहरूमा यसलाई महत्वका साथ उल्लेख गरेको पाइए पनि स्रोत र साधनको अभावमा कार्यान्वयनको पाटो कमजोर देखिएको गुनासो गरे ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग, स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिम बहादुर खड्का, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपाली, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भीमा पौडेल, महानगरपालिकाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सीना र जनस्वास्थ्य निरीक्षक एवं खोप अधिकृत तेजाखर लम्साल लगायतले बाल स्वास्थ्य र खोपको प्रभावकारिताका विषयमा बोलेका थिए।