पोखरा, ३० बैशाख २०८१/
हङकङमा एक जना नेपाली युवाले आफ्ना ५० वर्षीय बाबुको हत्या गरेका छन्। हङकङको युनलङस्थित पिङफाइ पथमा रहेको आवासीय फ्ल्याटमा बसोबास गर्दै आएका ३२ वर्षीय युवाले गएराति आफ्नो ५० वर्षीय बाबुको हत्या गरेको साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी)ले समाचार छापेको छ।
उनीहरुको पहिचान भने हालसम्म खुलाइएको छैन। तर उनीहरु नेपाली भएको बताइएको छ।
बेरोजगार छोराले पैसाको निहुँमा बाबुसँग झगडा गर्दा उक्त घटना भएको साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी)मा छापिएको समाचारमा उल्लेख गरेको छ। निर्माण क्षेत्रमा सक्रिय ती नेपालीका डुई छोरा र श्रीमतीसहित हंगकंग बस्दै आएका थिए ।
राति एक बजे घटनाको सुचना पाउनासाथ घटनास्थल पुगेको हंगकंग प्रहरीले घाइते अवस्थामा रहेका ती बृद्धलाई बेहोश अवस्थामा भेटिएका थिए। ५० वर्षीय मृतकको टाउकोमा ८ सेन्टिमिटर गहिरो चोट लागेको छ। उनलाई तत्क्काल उपचारार्थ युनलङको पोकओइ अस्पताल पुर्याइएकोमा राती साढे दुई बजे अस्पतालले उनलाई मृत घोषित गरेको प्राप्त समाचारमा जनाइएको छ ।
‘झगडाको क्रममा जेठो छोराले बुबालाई शारीरिक रूपमा आक्रमण गरेको थियो,’ युनलङका सहायक जिल्ला कमान्डर क्वान चुन–हिमलाई उद्धृत गर्दै एससीएमपीमा उल्लेख छ, ‘प्रारम्भिक जाँचले टाउकोको चोटका कारण मृत्यु भएको विश्वास गरिएको छ। यद्यपि, मृत्युको वास्तविक कारण फरेन्सिक रिपोर्टपछि मात्रै थाहा हुन्छ।
‘बाबु–छोराबीचको सम्बन्ध, आर्थिक विवाद र दुवैको मानसिक अवस्था लगायत विभिन्न कोणबाट झगडाबारे अनुसन्धान गरिनेछ,’ क्वानले बताए।
बाबु–छोराबीच यसअघि झगडाको कुनै रेकर्ड नभएको पनि क्वानले बताएका छन्।
यस्तै, स्रोतलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले लेखेको छ, ‘बुबाले आफ्नो पर्स चोरेको आरोप छोराले लगाएका थिए। यही विवादले झगडाको रूप लिएको थियो। ब्लक बी लियङ चोइ बिल्डिङमा बस्ने उनीहरू नेपाली हुन्।’ थप अनुसन्धानका लागि प्रहरीले आरोपितलाई हिरासतमा राखेको छ।