पोखरा, ६ बैशाख २०८१/
पोर्चुगलास्थित मोन्तिजोमा रहेको समुद्रमा करीब दुई हप्ता अघि बेपत्ता भएका धादिङका एक युवा समुद्रमा मृत भेटिएका छन्। करिब दुई साता अघि सामुद्रिक खाना शंखेकीरा खोज्ने क्रममा समुद्रमा बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो ।
उनीसंगै शंखेकीरा खोज्न गएका उनका भतिज ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको थियो। धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए ।
मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईका अनुसार दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।
धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर महिना दिन अघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए ।