पोखरा, २७ चैत २०८०/
भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा सात नेपाली मजदुरसहित आठ जनाको मृत्यु भएको छ भने दू नेपाली मजदुर घाइते भएका छन्। उनीहरु सबै बेतालघाटको उचकोट गाउँस्थित जल जीवन मिसन प्रोजेक्टमा खानेपानीको लाइन बिछ्याउने काम गर्दथे ।
खानेपानीको लाइन बिछ्याउने काम सकेर गाडी भाडामा लिई टनकपुरस्थित चम्पावाट जाँदै गर्दा सोमबार राति नैनितालको बेतालघाट नजिकै उक्त गाडी झन्डै डेढ सय मिटर तल खोंचमा खसेर दुर्घटनाग्रस्त भएको भारतीय प्रहरीको स्थानीय प्रहरी थानाका सिनियर इन्सपेक्टर अनिश अहमदले जानकारी दिए।
उक्त दुर्घटनामा परेर नेपालस्थित भेरी अञ्चलको बबई गाउँका ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेतको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ। सोही दुर्घटनामा परेर गाडीका चालक भारतीय नागरिक भारतको बेतालघाटका राजेन्द्र कुमारको पनि मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ। उनीहरुको शव हलद्वानीस्थित नैनिताल सरकारी अस्पतालमा राखिएको छ।
दुर्घटनामा दुई नेपालीहरू शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन्। उनीहरु पनि नेपाली नै हुन्। उनीहरुमध्ये एक जना सिकिस्त छन् भने एक जना सामान्य रहेको प्रहरीको भनाइ छ। यस्तै दुर्घटनाबारे उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पनि चिन्ता व्यक्त गरेका छन्।
दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिमको टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो। उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेको थियो।