तनहुँ, २६ माघ २०८० /
अफ्रिकन स्वाइन फिभर लागेर तनहुँमा एक महिना पनि नहुँदै ३० वटा बंगुर मरेका छन्। यही माघ १ गतेदेखि हालसम्म उक्त संख्यामा बंगुर मरेका छन्‚ जसमध्ये सबैभन्दा बढी व्यास नगरपालिकाका छन्।
उक्त नगरपालिकामा १९, म्याग्देमा ८, भीमादमा २ र ऋषिङ गाउँपालिकामा एउटा बंगुर मरेका छन्। संक्रमणका कारण बंगुर मर्न थालेपछि यहाँका व्यावसायिक किसान चिन्तित भएका छन्।
जिल्लाका १० पालिकामध्ये ४ पालिकमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका पशु प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए।
महामारीको रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको उनको भनाइ थियो। ‘बाह्य मानिसलाई फार्ममा जान नदिन र बंगुर तथा सुँगुर ओसारपसार नगर्न सुझाव दिइएको छ,’ प्राविधिक ठकुरीले भने, ‘सुँगुर तथा बंगुरबाट सुँगुर तथा बंगुरमै यो रोग सजिलै सर्छ तर मानिसमा सर्दैन।’
संस्था दर्ता गरी व्यावसायिक काम गर्दै आएका किसानलाई महामारीले सताएपछि पीडित किसानलाई पुनःस्थापना कार्यक्रमअन्तरगत प्रतिबंगुर ४ हजार रुपैयाँका दरले सहयोग गरिने सो कार्यालयले जनाएको छ।
केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान थालेका छन्।
पीडित किसानका फार्ममा पुगेर सतर्कता अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख डा राजेशकुमार चौधरीले बताए। सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रवाहसमेत गरिँदै आएको उनको भनाइ थियो।
रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले संक्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन लगाइएको छ।
रोगका कारण बंगुरमा उच्च ज्वरो आउने, खान मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखापर्छन्।