काठमाण्डौमा प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु : प्रहरीले बनायो एसएसपीको नेतृत्वमा अध्ययन समिति

काठमाण्डौमा प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु : प्रहरीले बनायो एसएसपीको नेतृत्वमा अध्ययन समिति


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ माघ २०८०
  • 8.9K
    Shares

पोखरा, २६ माघ २०८० /

काठमाण्डौमा ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दारको मृत्यु भएपछि सो प्रकरणमा छानबिन गर्न नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालयले एउटा छानबिन समिति बनाएको छ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको नेतृत्वमा अध्ययन समिति गठन गरेका हुन् । समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर, काठमाडौंबाट डीएसपी अनिल अधिकारी सदस्य छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको समाचारस्रोतहरुले जानकारी दिएका छन् ।

बिहिबार राति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको थियो ।

घटना भएलगत्तै नजिकै रहेको मिड पोइन्ट अस्पतालमा लगिएको थियो । लगत्तै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषित गरेका थिए । अहिले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ । भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया