भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृत खड्कासहित चार जना जेल चलान , छजना धरौटीमा छुटे

भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृत खड्कासहित चार जना जेल चलान , छजना धरौटीमा छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ माघ २०८०
  • 6.5K
    Shares

पोखरा, २४ माघ २०८० /

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा पक्राउ परेका सात मध्ये अध्यागमन अधिकृतसहित चारजना जेल चलान भएका छन भने तीन जना धरौटीमा छुटेका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणी गौतमको मंगलबारको इजलासले पुर्पक्षका लागि कारागार पठाउन आदेश भएपछी ध्यागमन अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव, मनोज तामाङ जेल चलान भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी सीपी पन्थीले जानकारी दिए। सोहि इजलाशको आदेश बमोजिम दिनेश ज्ञवाली र रामप्रसाद भण्डारी ७/७ लाख, गीता शाह ५ लाख रुपैयाँ, विनोद कार्की २ लाख, तथा रविन अर्यालर पदम लामा १/१ लाख,धरौटी राखेर तारेखमा छुटेका छन्।

भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध चलाइएको मुद्दामा यस्तो आदेश आएको हो।

यही माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।

उनको साथबाट रामेछापको दोरम्बा गाउँपालिका–७ का ट्राभल एजेन्ट पदम लामाले दिएको दुई लाख रुपैयाँसमेत बरामद भएको थियो। त्यपसपछि उक्त प्रकरणको छानबिनमा अरु पनि तानिएका थिए।

खड्काकै बयानबाट ८ जना अरु अध्यागमन अधिकृतविरुद्ध पनि मुद्दा चलेको थियो। अनुसन्धानका क्रममा खड्का र लामाको मिलेमतोमा भिजिट भिसामा विदेश उडाइएका दर्जनौँ युवाको सूची प्रहरीले भेट्टाएको थियो।

अध्यागमन विभागका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको सेटिङ मिलाउँदा तीन करोड बढी घुस लिएको खुलासा अनुसन्धानबाट भएको थियो।

काठमाडौँ प्रहरी परिसरले भिजिट भिसाका नाममा भएको सरकारी कागजात किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धानका क्रममा उक्त कुरा पत्ता लगाएको थियो।

उक्त प्रतिवेदन अनुसार भिजिट भिसामा विदेश जाने नेपालीलाई नक्कली कागजातका आधारमा पास गराउँदा पुरुषबाट १७ हजार र महिलाबाट ४० देखि ५० हजार रुपैयाँसम्म लिने गरेका खुलेको थियो।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयबाट करिब १७ सय जनाका नक्कली कागजात बरामद गरेर अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो। तिनै कागजातका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले अध्यागमन विभागका ९ जना अधिकृत, ट्राभल एजेन्सी सञ्चालक, होटल सञ्चालक र अन्य बिचौलियाको संलग्नता रहेको पत्ता लगाएको थियो।

प्रहरीले पक्राउ परेका १० जना र फरार १२ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। फरार रहनेमा ८ जना अध्यागमनकै अधिकृतहरु छन्। अरु चार जना फरार छन्।

पक्राउ पर्नेमा नवलपरासीको कावासोती घर भई हाल चितवनको भरतपुर उपमहानगरपालिका ८ खैरहनी बस्ने ४४ वर्षीया गीता शाह, काठमाडौँको तीनकुनेका ३७ वर्षीय अरुण दाहाल, सिरहा मिर्चैयाका २७ वर्षीय सरोजकुमार यादव, पश्चिम रुकुमको सानोभेरी १० घर भई हाल जाजरकोटको भेरी नगरपालिका बस्ने अध्यागमन अधिकृत ३७ वर्षीय नरवीर खड्का र रामेछापको दोरम्बा गाउँपालिका ७ का ३१ वर्षीय पदम लामा थिए।

यस्तै काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ बस्ने ३९ वर्षीय मनोज तामाङ, स्याङ्जाको चापाकोट नगरपालिका १ पैदिमगरेका ३९ वर्षीय रामप्रसाद भण्डारी, गुल्मीको सत्यवती गाउँपालिका ७ घर भई काठमाडौंको टोखा बस्ने स्काइ टुर्स एन्ड ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, स्याङ्जाको वालिकाङका रविन अर्याल र मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्की पनि पक्राउ परेका थिए।

यो प्रकरणमा फरार रहनेमा विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरु ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो रहेका छन्।

यस्तै सिनामंगलको होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, बाराको सिमराकी २३ वर्षीया कौशिला मगर, सोलुखुम्बु घर भई मुलपानी बस्ने ४० वर्षीया लक्ष्मी राई र सिन्धुलीको कमलामाई नगरपालिकाकी ३४ वर्षीय रीता दमाईविरुद्ध पनि मुद्दा चलाउने राय प्रहरीले दिएको थियो।

प्रतिक्रिया