दुई वर्षीय छोरा पिठयुँमा बोकेर दैनिक कार्यालय धाउन बाध्य तनहुँको बेलटारी स्वास्थ्य केन्द्रकी इन्चार्ज रखाली मगर

दुई वर्षीय छोरा पिठयुँमा बोकेर दैनिक कार्यालय धाउन बाध्य तनहुँको बेलटारी स्वास्थ्य केन्द्रकी इन्चार्ज रखाली मगर


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ माघ २०८०
  • 11.7K
    Shares

पोखरा, १९ माघ २०८० /

तनहुँको व्यास नगरपालिका वडा नम्बर १० कुमालटारी निवासी गीता रखाली मगर सिनियर अहेब हुन् । व्यास नगरपालिका–११ स्थित बेलटारी शहरी स्वास्थ्य केन्द्रकी स्वास्थ्य इन्चार्ज रहेकी उनको दुई बर्षीय छोरा छन्।

एकतातिर सन्तानको माया, अर्कोतिर जनताको स्वास्थ्य उपचार गर्नुपर्ने पेशा उनका लागि समन्वय गर्न मुकिल छ। तैपनि उनी आफ्नो कर्तब्य पुरा गर्न अटुट लागिरहेकी छिन्। उनी आफ्नो दुई वर्षीय छोरा
पिठ्युँमा बोकेर दैनिक कार्यालय धाउछिन् ।

व्यास–१० कुमालटारीमा घर भएपनि घरमा बालकको हेरचाह गर्ने व्यक्ति कोही नहुँदा दैनिक पिठ्युँमा बाँधेर स्कुटरमा लाने र ल्याउने उनको दैनिकी नै बनेको छ । दैनिक स्कुटर चलाएर आधा घण्टाको यात्रा पछि स्वास्थ्य केन्द्रमा पुग्ने गर्छिन् । उनका श्रीमान् बिनोद रखाली मगर नीजि विद्यालयमा शिक्षण गर्छन् । घरमा बालकको रेखदेख गर्ने जनशक्ति नभएपछि आफैले लाने र ल्याउने गरेको उनले बताइन् ।

व्यास–१० आफ्नै वडामा रहेको कोभिड अस्पतालमा घर पायक पर्ने भएपनि व्यास नगरपालिका कार्यालयमा पटक पटक आग्रह गरेपनि बेवास्ता गरिएकाले कठिनाई भोग्नु परेको उनको गुनासो रहेको छ ।

बाबु जन्मिएको केही समय आमाले रेखदेख गर्दा आफुलाई काम गर्न सहज भएको थियो,उनले भनिन्,‘माइती घरमा पनि बुहारीले बच्चा जन्माएपछि आमाले उतै हेरचाह गर्नुपरेपछि समस्या खड्किएको छ ।’

बसमा कार्यालय जानको लागि करिब डेढ घण्टा लाग्ने भएकाले बाध्य भएर बाबुलाई स्कुटरमा ल्याउने र लाने गर्दै आएको उनी बताउँछिन् । नागरिकको सेवा गर्न जागिर त खानै पर्यो तर बाबु सानो भएकाले कार्यालयमा लैजादाँ र घरमा ल्याउँदा हावाले असर गर्ने हुँदा समस्या खेप्नुपरेको छ ।

दमौली अस्पतालबाट समायोजन भई व्यास नगरपालिकामा आएकी स्वास्थ्य इन्चार्ज मगरले भनिन् ‘घर पायक सेवा गर्ने अवसर पाएको अवस्थामा बच्चालाई हुर्काउन सजिलो हुने थियो तर कतैबाट सुनुवाई भएन ।’

व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले स्वास्थ्यकर्मी मगरको दरबन्दी तनहूँसुर भएपनि उनकै माग अनुरुप बेलटारी शहरी स्वास्थ्य केन्द्रमा कामकाज गर्ने गरी खटाइएको बताए । गर्भवती हुँदाको समयमा तनहूँसुर भन्दा बेलटारी स्वास्थ्य संस्थामा सहज हुने माग गरेपछि उनलाई सरुवा गरिएको उनले बताए ।

व्यास नगरपालिका मातहत चौध वटा वडामा छब्बीस स्वास्थ्य केन्द्र र तीन वटा आयुर्वेद स्वास्थ्यलय गरी २९ वटा संस्थामा एक सय पच्चीस जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

कार्यरत कर्मचारीमध्ये ७० प्रतिशत महिलाको जनशक्ति रहेको उहाँले बताए । कोही गर्भवती,कोही सुत्केरी र कोही अध्ययन बिदामा रहेका कारण कर्मचारी समस्या हने गरेको छ,उनले भने ।

अधिकाँश कर्मचारीको माग सदरमुकाम केन्द्रित हुने चाहना भएकाले माग अनुरुप व्यवस्थापन गर्न नसकिएको उनले स्वीकार गरे ।

प्रतिक्रिया