एमाओवादीलाई अर्को झट्का, युवराज लामाले दिए राजीनामा

एमाओवादीलाई अर्को झट्का, युवराज लामाले दिए राजीनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ बैशाख २०७३
  • 12.5K
    Shares

थुप्रै चलचिकर्मीहरुको नेतृत्व गर्दै एमाओवादी पार्टीमा प्रवेश गरेका पूर्व कराँते खेलाडी तथा कलाकार युवराज लामाले अन्ततः अखिल नेपाल खेलकुद महासंघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । अखिल नेपाल खेलकुद महासंघलाई पार्टी फ्याक्सनले नै चलाउने निर्णय भएपछि असन्तुष्ट हुदैँ लामाले राजीनामा गरेका हुन् ।
उनले” नैतिकताका आधारमा अध्यक्ष पदमा बसिरहनु उपयुक्त नभएको “राजीनामा पत्रमा जनाएका छन् । उनले माओवादी पार्टीभित्र घुक्र्याउने, दंग्याउने र पद तथा पैसाका लागि प्राण फ्याँकेर अघि बढ्ने प्रवृत्ति हाबी रहेको भन्दै विज्ञप्तीमार्फत असन्तुष्टी पोखका छन् । लामाले अध्यक्ष पदबाट राजीनामा दिएपनि पार्टी र खेलकूदमा भने निरन्तर लागिरहने बताएका छन् । उनी राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव समेत हुन् ।

२०७३।०१।२८

श्रीमान लीलाबहादुर थापा ज्यु ।
फ्याक्सन इन्चार्ज, अखिल नेपाल खेलकुद महासंघ ।
एनेकपा माओवादी, केन्द्रीय कार्यालय, पेरिषडाँडा, काठमाण्डौं ।

विषय ः अखिल नेपाल खेलकुद महासंघको अध्यक्षवाट राजीनामा दिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा पार्टी फ्याक्सनको २५ बैशाखमा बसेको बैठकले अखिल नेपाल खेलकुद महासंघलाई फ्याक्सन कमिटीले नै अघि बढाउने र काम–कार्यवाही गर्ने–गराउने निर्णय भएकाले महासंघको अध्यक्ष रहिरहनु नैतिकताका आधारमा उपयुक्त नरहेको मूल्याँकन गरेको छु ।

इन्चार्ज क., म ०६५ सालमा यस्तोवेलामा समाजमा स्थापित १०७ चलचित्र कर्मिको नेत्रितो गर्दै पार्टी प्रवेश गरेको थिएँ, जतिवेला पार्टी सरकारमा थिएन । तर, पार्टीले बोकेका परिवर्तनका एजेन्डाहरुले मलाई त्यस अभियानमा संलग्न गराइछाड्यो । म पद, प्रतिष्ठा र पैसाकालागी पार्टी प्रवेश गरेको होइन र छैन पनि । समाजले कलाकार, निर्माता र निर्देशकका रुपमा मलाई गर्ने माया नै मेरोलागी पर्याप्त छ ।
पार्टीले लिएका एजेन्डाहरु नयाँ संविधानमा लेख्न सफल भएको गौरवपूर्ण वर्तमानले मलाई धेरै खुसी वनाउँछ । पार्टीका श्रद्धेय अध्यक्ष क.प्रचण्ड, महासचिव क.कृष्णबहादुर महरा, पूर्व खेलकुद मन्त्रीहरु क.हितबहादुर तमाङ र क.कमला रोका, तत्कालिन युवा तथा खेलकुद इन्चार्ज क.गणेशमान पुन र कं गणेश भण्डारी आदिले मलाई जिम्मेवारी दिन देखाउनु भएको सदासहेतालाई मेरो हृदयले सधैं धन्यबाद दिइरहने छ ।

इन्चार्ज क. तर, महासंघ र एनेकपा माओवादी पार्टी भित्र घुर्काउने, दंङ्याउने, पद र पैसाको पछाडि प्राण फ्याँकेर हिड्ने प्रबृत्ति मेरालागी चुनौतीपूर्ण रुपमा देखापरे । पार्टीको केन्द्रीय नेतृत्वमा रहेका कम्रेडहरु नै उचाल्ने, पछार्ने, धाउन् र खुवाउन् भन्ने कार्यमा संलग्न भएको देख्नुपर्दा मलाई दुखलागि रह्यो । यस्तो बिकृत कार्यमा प्रतिस्पर्धी हुने र पद हत्याउने कार्य मेरा निम्ति सोच्नपनि नसकिने विषय हुन् । पार्टी र भातृ संगठनहरुमा नयाँ र पुरानाको नाममा हुने गैह् राजनीतिक विभेदले समेत म र मजस्ताहरुको मन दुख्दै आएको छ ।

इन्चार्ज क. यो ५६ बर्षको उमेरमा समेत मसँग विरोधी पार्टी र शक्तिसँग भिड्ने सामर्थ अझै बाँकी छ । तर, म पार्टीमा छोराका उमेरका युवाहरुसँग पौठेजोरी खेलेर आत्मग्लानी पिउँदै बस्न सक्ने अवस्थामा चाहिं छैन । यस्तो कार्य मेरो उमेर, अनुभव र नैतिकताले समेत दिनेछैन ।

इन्चार्ज क. म पार्टी र संगठनले लिएका नीति र निर्देशनभन्दा टाढा रहने छैन । पार्टी र खेलकुदको विकासकालागी आवश्यक प्रत्यक्ष–परोक्ष सहयोगकालागी म सधैं तयार रहने प्रतिज्ञा गर्दै महासंघको अध्यक्ष पदवाट मैले दिएको राजिनामा स्वीकृतीकालागी सम्वन्धित कमिटीमा दर्ता गराई सहयोग गरिदिन हुन अनुरोध गर्दछु ।
धन्यबाद ।

युवराज लामा

अध्यक्ष

अखिल नेपाल खेलकुद महासंघ

प्रतिक्रिया