जापानमा पौडी खेल्ने क्रममा दुई नेपाली युवाको मृत्यु भएको छ। जापानको यामागुची प्रिफेक्चरको इवाकुनी शहरस्थित इमाजु नदीमा पौडी खेल्ने क्रममा मंगलबार दिउसो दुई नेपाली युवाको मृत्यु भएको हो ।
मृत्यु भएका युवाको पहिचान खुलाइएको छैन। तर दुवै जना करीब २० वर्ष उमेरका भएको जापान प्रहरीलाई उद्धृत गर्दै त्यहाँस्थति संचार माध्यमहरुले जानकारी दिएका छन्।
यामागुची प्रिफेक्चरको इवाकुनी शहरस्थित दमकल विभागका अनुसार, चारजना मानिस नदीमा पौडी खेल्न गएका थिए । अपरान्ह ४ः२० बजेतिर एक नेपालीले आफूसँग भएको व्यक्तिलाई खोलाले बगाएको र नभेटेको बताएका थिए । दमकल विभागमा मानिस डुबेको खबर पाउनासाथ घटनास्थलमा पुगेको उद्धार टोलीले एकजनालाई करिब ४ः४५ बजे र अर्कोलाई साँझ ५ः४० बजे करिब २ देखि २.५ मिटर गहिराइमा भेट्टाएको बताइएको छ। अचेत अवस्थामा उद्धार गरिएका उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल लगिएकोमा अस्पातलले मृत पुष्टि गरेको प्राप्त समाचारमा जनाइएको छ।