रूसको निजी सैन्य कम्पनी ‘वागनर समूह’ रूसका दुइटा सहर कब्जा गरी मस्कोतर्फ अघि बढिरहेको छ।
अहिले सो समूह लिपेत्स्क प्रान्तमा प्रवेश गरेको छ।
एपीएफका अनुसार प्रान्तका गभर्नर इगोर अर्टामोनोभले सो समूह उक्त क्षेत्रमा प्रवेश गरेको बताएका हुन्। अर्टामोनोभका अनुसार वागनर समूह हातहतियारसहित सो क्षेत्रमा प्रवेश गरेका हुन्।
लिपेत्स्क प्रान्त मस्कोदेखि ३६० किमी दक्षिणको क्षेत्रमा पर्छ।
यसअघि वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले शनिबार आफ्ना सैनिकले रूसकै सहर रोस्तोवको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए। रोस्तोव मस्कोबाट ११०० किमी टाढा छ। वागनर समूहले भरोनेजमा रहेको सैनिक क्षेत्रलाई पनि नियन्त्रणमा लिएको थियो।
उक्त समूहले रोस्तोवदेखि मस्कोसम्मको आधाभन्दा बढी दूरी पार गरिसकेको छ।
वागनर समूह मस्को नै जाने सोचले अघि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।