भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज बिहान भेटवार्ता भएको छ ।
हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।
प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डलाइ स्वागत गर्न भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीलाई पठाएको भारतले प्रचण्डको घोर अपमान त गरेको थियो नै, समाचार संकलनका लागि त्यहाँ पुगेका नेपाली पत्रकारहरुलाई दुर्ब्यबहार गरिएको थियो। त्यहाँ नेपाली पत्रकारलाई समाचार संकलन गर्न अवरोध त गरिएको थियो नै, सुरक्षाकर्मी समेतले दुर्ब्यबहार गरेका थिए।