शिकार खेल्न गएका एक युवाको बन्दुकको छर्राले लागेर मृत्यु भए पछि नुवाकोटबाट अर्का एक युवा पक्राउ परेका छन्। नुवाकोटको किम्ताङको जंगलमा भरुवा बन्दुक बोकेर शिकार खेल्न गएका म्यागङ गाउंपालिका ४ किम्ताङका २६ वर्षीय पञ्च घलेको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, किम्ताङको जंगलमा भरुवा बन्दुक बोकेर शिकार खेल्न जंगल गएका २८ वर्षीय अमित तामाङले बोकेको भरुवा बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको हो। घटना शंकास्पद रहेका कारण अमितलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको डीएसपी खड्काको जानकारी दिए।
जंगलमा पञ्च घले र अमित तामाङसंगै सिकार खेल्न हिँडेको र अमितले बोकेको बन्दुक पड्किएको जनाइएपनि घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीले अमितको पक्राउसँगै घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी खड्काले जानकारी दिए।
छर्रा लागि मृत्यु भएका घलेको नुवाकोट जिल्ला अस्पतालमा त्रिशूलीमा पोष्टमार्टम गरी मृतकको परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।