पोखरा महानगरपालिकाले शुक्रवारबाट पोखरामा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । महानगरको कृषि तथा पशुपन्छी महाशाखाले आयोजना गरेको कृषिउपज बजारस्थल बिरौटामा आयोजित विशेष कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले उक्त एम्बुलेन्सको शुभारम्भ गरेका छन् ।
कृषि उत्पादनलाई सुरक्षित ढुवानी गरेर उत्पादकदेखि उपभोक्तासम्म पुर्याउने उद्देश्यले पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । ३६ लाख रूपैयाँ लागत पर्ने एम्बुलेन्स महानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।
फलफूल तथा तरकारी मूल्य शृंखला विकास आयोजनासँगको सहकार्यमा ल्याइएको एम्बुलेन्सको महानगर प्रमुख धनराज आचार्यले शुक्रबार उद्घाटन गरे । उनले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षित तवरले बजार र उपभोक्तासम्म पु-याउन एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिँदै उनले कृषकका उत्पादनले सही समयमा बजारसम्म पहुँचको अवस्था सिर्जना हुने बताए । कृषकलाई आत्मनिर्भर बनाउन उनीहरुद्वारा उत्पादित बजारको सरल र सहज पहुँचको आवश्यता रहेको जनाउँदै महानगरले कृषकमैत्री कार्यक्रममा जोड दिएको उनको भनाइ थियो ।
महानगरका कृषि तथा पशुपन्छी महाशाखा प्रमुख मनोहर कडरियाले एम्बुलेन्स सञ्चालनसँगै अब उत्पादनले सही समयमै बजार पाउने र उपभोक्ता र कृषक दुवैले लाभ लिन पाउने बताए । उनका अनुसार कार्यक्रममा कृषकले आफ्नो वडाको वा पायक पर्ने कृषिउपज सङ्कलन केन्द्रमा सम्पर्क गरी उक्त सेवा लिन सक्नेछन् ।
यो एम्बुलेन्सले माइनस १५ डिग्रीसम्मको तापक्रममा फलफूल, तरकारी, मासुजन्य पद्धार्थ, खोप पनि ढुवानी गर्न सक्छ ।
यो एम्बुलेन्समा किसानले आफ्नो उत्पादन ढुवानी गरेबापत लाग्ने शुल्क छिट्टै निर्धारण गरिने महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । गाउँगाउँमा रहेका कृषि उत्पादनलाई महानगरपालिकाले सञ्चालन गरेका किसान बजार र माग हुने ठाउँमा पुर्याइने उनले बताए ।
मेयर आचार्यले अहिले ल्याइएको कृषि एम्बुलेन्स कति प्रयोग हुन्छ त्यो हेरेर अर्को पनि आवश्यक भए ल्याउने बताए । कृषि उत्पादन बढाउन खाली रहेका भूमिलाई प्रयोग गर्न भूमि बैंक योजना अघि बढाउने तयारी रहेको उनले सुनाए ।
महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले एम्बुलेन्सले वडाका सङ्कलन केन्द्रबाट रेफ्रिजरेटरसहितको एम्बुलेन्सले सङ्कलन गर्ने गरी फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना (कोइका) सँगको सहकार्यमा पोखरा महानगर पालिकाले सञ्चालन गर्ने जानकारी दिए।
कार्यक्रममा पोखरा महानगरका आर्थिक प्रशासन प्रमुख बोधराज कार्की, महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनालगायतले कृषि एम्बुलेन्सले महानगरका कृषक र उपभोक्ता दुवै लाभान्वित हुने र तरकारी तथा फलफूल आयातलाई कम गर्न सघाउ पु-याउने बताए ।
महानगरका कृषि तथा पशुपन्छी महाशाखा प्रमुख मनोहर कडरिया हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ – सम्पादक