नेपाल प्रहरीको प्रमुखमा एआइजी वसन्तबहादुर कुँवर नियुक्त : आइजी सिंहलगायत नौ बरिष्ठ अधिकारीहरुले पाए अवकाश

नेपाल प्रहरीको प्रमुखमा एआइजी वसन्तबहादुर कुँवर नियुक्त : आइजी सिंहलगायत नौ बरिष्ठ अधिकारीहरुले पाए अवकाश


  • जन संचार
  • शुक्रबार, १० चैत्र २०७९
  • 3.8K
    Shares

नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो । तीन दिनअघि मात्रै सरकारले उनीसहित ५ जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

यसैबीच प्राप्त जानकारी अनुसार, नेपाल प्रहरीका नौ जना वरिष्ठ प्रहरी अधिकृतले शुक्रबारबाट अवकाश पाएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित उनका ब्याचका ९ वरिष्ठ अधिकारीले ३० वर्षे सेवा हदका कारण अवकाश पाएका हुन् । उनीहरुलाई एक महिना अघि नै प्रहरी किताबखानाले अवकाशको पत्र थमाइसकेको थियो ।

आईजीपी सिंहसँगै एआईजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहोनी अवकाशमा जाँदैछन् । त्यस्तै, डीआईजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा गए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) उमाशंकर पञ्जियार र जनकराज पाण्डे पनि शुक्रबारबाट अवकाशमा जानेछन् । आईजीपी सिंहको टोली २०४९ चैतमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेको थियो ।

प्रतिक्रिया